• ११ पुस २०८१, बिहिबार

सल्लेमा फिजियोथेरापी

blog

जिल्ला अस्पताल सल्लेमा फिजियोथेरापी सेवा दिइँदै । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ १ गते । रुकुमपश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा दिन थालेपछि थेरापी गराउनुपर्ने बिरामीलाई राहत भएको छ।  जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा दिन थालिएपछि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीलाई फाइदा भएको छ। 

मुसीकोट नगरपालिका–१, मठका अमृता विकले जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताउनुभयो। ढाड र कम्मरको उपचारका लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। 

त्रिवेणी गाउँपालिका–४ का दीपेन्द्र खड्काले हाडजोर्नी सुन्निने समस्याको उपचार जिल्ला अस्पतालमै गरिरहेको बताउनुभयो। घुँडा र जोर्नी दुःखाइको उपचारका लागि यसअघि जिल्लाबाहिर गएर उपचार गराइरहेका खड्काले चैत महिनादेखि जिल्ला अस्पतालमा नियमित सेवा लिइरहनुभएको छ। 

स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पतालमा चैत महिनादेखि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो। फिजियोथेरापिस्ट डा. अस्मिता श्रेष्ठले जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिने बिरामीको सङ्ख्या बढिरहेको बताउनुभयो। उहाँका अनुसार दुई महिनामा ५५० बिरामीले फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा सेवा लिएका छन्। 

फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नीको उपचारसँगै नसासम्बन्धी समस्या भएका बिरामीले पनि सेवा लिइरहेका छन्। डा. श्रेष्ठका अनुसार अहिले अस्पतालमा हाडजोर्नी सुन्निने, ढाड र घाँटीको दुखाइ, हड्डी भाँचिएका, नसाको समस्या भएका बिरामी दैनिक २० देखि २५ जनासम्म आउने गरेका छन्। नसा चुँडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीलेसमेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन्। हड्डी भाँचिएका, कम्मर तथा ढाडको दुःखाइ भएका र हाडजोर्नी सुन्निने समस्या भएका ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन्। 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशील पोखरेलका अनुसार जिल्ला अस्पतालमा विषेश प्राथमिकतासाथ फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको छ। अस्पतालमा हाडजोर्नी तथा नसा रोगको उपचार सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहेकाले सो सेवा सुरु गरिएको हो। दैनिक करिब ३० जना बिरामीलाई अर्थोपेडिक सेवा दिए पनि फिजियोथेरापी सेवाका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले सो सेवा सुरु गरिएको हो।