• ८ जेठ २०८१, मङ्गलबार

मनाङसँग बराबरीमा रोकियो जावलाखेल

blog

लिगमा गोल गरेपछि जावलाखेलका खेलाडी । फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते । उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले शहिद स्मारम ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा जावलाखेल र मनाङले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

जावलाखेलले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । जावलाखेलका लागि एनकोटो मासोआवी र हिसुब थपलियाले गोल गर्नुभयो । मनाङका  भिषण गुरुङ र सुमित श्रेष्ठले बराबरी गोल फर्काउनुभयो । मासोआवीले ३४औं मिनेटमा खाता खोल्नुभएको थियो ।

त्यसपछि ७६औं मिनेटमा हिसुबले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । तर जावलाखेल अन्तिममा सम्हालिन नसक्दा मनाङले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा सकेको थियो । ८१औं मिनेटमा भिषण र इन्जुरी मसयमा सुमितले गोल गर्दै मनाङको हार टार्नुभयो ।

मनाङविरुद्ध पहिलो लेगमा जावलाखेल ३-० गोलले विजयी भएको थियो । बराबरीसँगै शीर्षस्थानमा रहेको जावलाखेलले १८ खेलबाट ३१ अङ्क बनाएको छ । समान खेलबाट २२ अङ्क बनाएको मनाङ आठौं स्थानमा छ । 

यस्तै एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा रेलिगेसन जोगाउन संघर्षरत न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्सले पनि बराबरी खेल्दै अङ्क बाँडेको छ । फ्रेन्ड्सले अग्रता जोगाउन नसक्दा अङ्क बाँडेको हो । फ्रेन्ड्सका लागि रफिक अमिनुले २८औं मिनेट र अमित तामाङले ६६औं मिनेटमा गोल गर्नुभयो ।

एनआरटीले ५८औं मिनेटमा अमितकै आत्मघाती गोल सहयोगमा खेलमा फर्कने प्रयास गरेको थियो । ८९ओं मिनेटमा विदेशी खेलाडी निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाउनुभयो । एनआरटीविरुद्ध पहिलो लेगमा फ्रेन्ड्स ३-१ गोलले विजयी भएको थियो । 

बराबरीसँगै १८ खेलबाट २२ अङ्क बनाएको एनआरटी तालिकाको आठौं स्थानमा छ । समान खेलबाट २० अङ्क बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ ।