• ११ पुस २०८१, बिहिबार

प्राकृतिक विपतले लिन्छ धेरैको ज्यान

blog

रजनी योगी

सुर्खेत, वैशाख ३१ गते । गत बुधबार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो। सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। उक्त आगलागीको घटनामा अन्य १० जना घाइते भए।

वैशाख २२ गते मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन्। बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भइरहेको छ। 

प्राकृतिक विपत्का पछिल्ला दुई दृष्टान्त घटना हुन्। कर्णाली प्रदेशमा बर्सेनि यस्ता विपत्मा परेर धेरैको ज्यान जाने गरेको छ। क्षति पनि ठूलो मात्रामा नै हुने गरेको छ। प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी पहिरो, दोस्रोमा आगलागी र तेस्रोमा बाढीका कारण धनजनको क्षति हुने गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएका छन्। जसबाट सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। चट्याङका ३३ वटा घटना भएका छन्। तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

यो वर्ष पहिरोका ३४८ वटा घटना भएका छन्। जसबाट ३८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। चालु आर्थिक वर्षमा ३१ वटा बाढीका घटना भएका छन्। बाढीबाट चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको सो तथ्याङ्कले जनाएको छ। कर्णालीमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपत्का घटना बढ्दो गतिमा छन्। प्राकृतिक विपत्तिबाट मानवीय तथा धनजनको ठूलो क्षति हुने गरेको छ। कर्णालीमा पहिरोबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले विपत्तिले नयाँ मोड लिएको बताउनुभयो। पछिल्ला वर्षमा पहिरोबाट हुने विपत् थप चुनौतीपूर्ण बन्दै गएको जानकारी उहाँले दिनुभयो। 

उहाँका अनुसार विपत्का दृष्टिले भूकम्पलाई छोडेर हेर्दा पछिल्लो दशक बाढीका कारण हुने मृत्युदर घटेको तर पहिरोबाट हुने क्षति भने बढेको छ। बाढी र पहिरोजन्य घटना भने बढेको छ। जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएको उहाँको भनाइ छ। ‘पछिल्लो समय विपत्तिको नयाँ नयाँपन आएको छ। लेक मनसुन, हिमपहिरो, विभिन्न अकल्पनीय घटनालगायत विपत्तिका कारण हुने घटनामा परिवर्तन आएको छ उहाँले भन्नुभयो।

आर्थिक वर्ष २०७५/७६ मा ८८२ विपत्का घटना भएका छन्। यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ९०२, आर्थिक वर्ष २०७७/७८ मा ४१६ विपत्का घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा एक हजार २१५ वटा विपत्का घटना भएका छन्। चालु आर्थिक वर्षमा विपत्का घटनामा दोब्बरले वुद्धि भएको छ। 

विपत्बाट मानवीय क्षति, प्राकृतिक विपत्तिबाट कर्णालीमा मानवीय क्षति धेरै हुने गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विपत्तिको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा ४८ जना घाइते भएका थिए।  आर्थिक वर्ष २०७६/७७ मा ४१ जनाको मृत्यु भएको थियो। ८६ जना घाइते भएका थिए। आर्थिक वर्ष २०७७÷७८ मा प्राकृतिक विपत्तिबाट ८५ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७८/७९ मा ६८ जनाको मृत्यु भयो भने ७३ जना घाएते भए। चालु आर्थिक वर्ष २०७९/८० मा ६५ जनाको मृत्यु भइसकेको छ। ११० जना घाइते भएका छन्।