• १३ साउन २०८१, आइतबार

सम्झौता अगावै सक्नेगरी बेगखोलामा पुल निर्माण तीव्र

blog

बेगखोलामा निर्माणधिन पक्की पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३० गते ।
 राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणाधीन मोटरेबल पुल ठेक्का सम्झौता अगावै निर्माण सम्पन्न गर्नेगरी तीव्र पारिएको छ ।

सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले रघुगंगा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल निर्माणका लागि बीओकेआई/हिमालयन जेभीलेसँग भ्याटसहित आठ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेसँगै निर्माण कम्पनीले योजनास्थलमा  मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिएको थियो । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशिक रिजालले अहिलेसम्म योजनाको ८५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पुल निर्माणको यही गति कायम रहे आगामी असोज महिनाभित्रै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

पुलको एउटा स्ल्याप ढलान भइसकेको र अर्कोको एक हप्ताभित्र ढलान गर्नेगरी तयारी गरिएको उहाँको भनाइ छ । पुलको ढलान सकिएपछि बाँकी रहेको  वारिपारिको सडक बनाउने, ग्यावियन झाली लगाउने र फिनिसिङ गर्ने काम असोजभित्र सकिने उहाँले जानकारी दिनुभयो । आगामी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख भएता पनि सम्झौता अगावै पुल निर्माण गर्नेगरी कार्यालय जुटेको उहाँले बताउनुभयो ।

बेगखोलामा पुल नहुँदा वर्षातका समयमा सवारीसाधनहरू आवतजावतमा निकै समस्या भोग्नुपरेको छ । वि.सं. २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेकाेमा बेलिव्रिज र झोलुङ्गे बाढीले बगाएको थियो ।  खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक, तीर्थयात्री र सर्वसाधारणहरूले वर्षातका समयमा आउने बाढीका कारण विगत छ  वर्षदेखि सास्ती भोग्दै आएका छन् ।