• १३ साउन २०८१, आइतबार

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता

blog

सन्तोष सुवेदी

कास्की, वैशाख २९ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ। शुक्रबार कांग्रेसका महेन्द्रध्वज जिसी (नवलपुर), जितप्रकाश आले (तनहुँ) र दिपेन्द्रबहादुर थापा (बागलुङ) र माओवादीका रेशमबहादुर जुग्जाली (म्याग्दी) मन्त्री नियुक्त हुनुभएको हो। उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो। 

वैशाख १५ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएको दिन कांग्रेसका सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रबाट सुशीला सिंखडा बिना विभागीय मन्त्री नियुक्त हुनु भएको थियो। मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिएसँगै मुख्यमन्त्री पाण्डेले सम्पूर्ण मन्त्रीको कार्यविभाजन गर्नुभएको छ।

जसअन्तर्गत सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुशीला सिंखडा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, सरस्वती अर्याल तिवारी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था मन्त्रालय, रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, जितप्रकाश आले आर्थिक मामिला मन्त्रालय, दिपेन्द्रबहादुर थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाउनुभएको छ। योसँगै गण्डकी प्रदेश सरकार पूर्ण बनेको छ। 

मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेकामध्ये रेशमबहादुर जुग्जाली मन्त्रीमा दोहोरिनुभएको छ। यसअघि खगराज अधिकारीको मन्त्रिपरिषदमा जुग्जालीले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नुभएको थियो। गण्डकीमा यो पटक नेकपा (एकीकृत समाजवादी) को तर्फबाट कोही पनि मन्त्रिपरिषदमा रहनुभएन्। समाजवादका सांसद दीपक मनाङे (राजीव गुरुङ) मन्त्री बन्ने चर्चा चलिरहँदा अन्तिम अवस्थामा उहाँको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्नुभएको हो।