• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

blog

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख २९ गते । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पटक–पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको बताउनुभयो ।

प्रमुख पाण्डेले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताउनुभयो ।


‘‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटक–पटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ ।,’’ प्रमुख पाण्डेले भन्नुभयो, ‘‘पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई पाँच हजारको दरले जरिवाना गरेका छौँ । हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई हरेक संस्थालाई पाँच हजारका दरले जरिवाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिवानाको दायरा बढ्छ ।’’

प्रमुख पाण्डेका अनुसार महानगरले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई पाँच हजार रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।