• १३ साउन २०८१, आइतबार

नक्कली शरणार्थीको अनुसन्धान रोकिनु हुँदैन : डा. कोइराला

blog

कांग्रेस नेता डा. शेखर कोइराला पत्रकारसँग कुरा गर्नुहुँदै । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली

विराटनगर, वैशाख २७ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । 

यस प्रकरणमा जोडिएका जोकोही पनि कारवाहीको दायरामा आउने उहाँको विश्वास छ ।  यो घटना अन्तर्राष्ट्रिय रुपमा समेत सरोकारको विषय बनेकाले अनुसन्धान प्रभावित हुने वा कारवाहीबाट जोगाउने ढङ्गले काम गर्न नहुने उहाँको भनाइ छ ।  

‘यो नक्कली भुटानी शरणार्थीको विषय देशका लागि लज्जास्पद विषय हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छजस्तो मलाई लाग्दैन’ नेता कोइरालाले भन्नुभयो, “यो विषय राजनीतिक वृत्तमा राष्ट्रिय रुपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि पुगिसक्यो, अब यसलाई रोक्नु हुँदैन ।” 

घटनालाई लिएर आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको र यसलाई सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो । ‘जो दोषि छन् उनीहरु कारबाही हुनुपर्छ, गलत काम गर्नेलाई कारबाहीको भागीदार बनाइनुपर्छ ।’ नेताहरु बसेर जेसुकै छलफल गरे पनि यो घटनाको विषयमा नेताहरु र प्रहरी प्रशासन पछि हट्न नसक्ने उहाँको भनाइ छ । 

नेता कोइरालाले पार्टीभित्र सल्लाह गरेर मन्त्री छानेकाले मन्त्री छनौटको विषयलाई लिएर कुनै नेताहरु असन्तुष्ट नरहेको उहाँले चर्चा गर्नुभयो । महामन्त्री गगन थापाले व्यक्त गर्दै आउनुभएको असन्तुष्टिको विषय सभापतिलक्षित हुनसक्ने उहाँको टिप्पणी छ ।