• २० वैशाख २०८१, बिहिबार

नागरिकता विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग

blog

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्त ।

काठमाडौं, वैशाख २७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

सांसद पन्तले सङ्घीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले संविधानको संरक्षकको रूपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्क समेत गर्नु भयो ।

सांसद पन्तले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग पनि गर्नुभयो । आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रपतिले छलफल गरिरहनु भएको छ निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा । आज पनि त्यो समाचार दैनिक पत्रिकाहरूमा पढ्दा बडा दुःख लागेको छ । म सरकारलाई आग्रह गर्दछु–त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस् । त्यसमाथि छलफल सुरु गरोस् । हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौँ ।,’’ सांसद पन्तले भन्नुभयो, ‘‘तर धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो । त्यसैले सभामुख महोदय, म राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक आग्रह गर्दछु–यो प्रतिनिधिसभाको, राष्ट्रियसभाको अधिकार उहाँबाट नखोसियोस् । यो विधेयक यहाँ आउनु पर्‍यो । विधेयक जारी गर्ने, त्यसलाई छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो । यो अधिकारको सुरक्षा होस् ।’’

सांसद पन्तले सङ्घीय संसद्को अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताउनु भयो ।