काठमाडौं, वैशाख २५ गते । भारतमा आगामी असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेत र लेबनानलाई आमन्त्रित टोलीको रुपमा सहभागि गराइने भएको छ ।
दक्षिण एयिसाली फुटबल महासंघ (साफ) ले दुई देशलाई आन्त्रित टोलीको रुपमा समावेश गर्न लागेको सोमबार जनाएको छ । यससँगै साफको १४औं संस्करणमा दक्षिण एसियाका ६ सहित आठ टोलीको सहभागिता रहनेछ ।
साफमा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेश तथा कुवेत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनका कारण श्रीलंकाले भाग लिने छैन ।
नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन । माल्दिभ्समा भएको १३औं संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।