• ७ मंसिर २०८१, शुक्रबार

पण्डित अर्थात् सम्पादक

blog

पण्डित नरदेव पाँडेले श्री ३ महाराजा देवशमशेरबाट विसं १९५८ मा गोर्खापत्र प्रकाशनको जिम्मेवारी पाउनुभयो । उहाँको व्यवस्थापनमा पशुपत छापाखानाबाट प्रकाशन भएको गोर्खापत्रको पहिलो अङ्कमा नै ‘एडिटर्को राय’ छापियो तर राय लेख्ने ‘एडिटर’ को थियो भन्ने खुल्दैन । गोर्खापत्रका पहिलो सम्पादकको खोजी गर्ने जो कोहीले यतिसम्म लेख्छ, भन्छ तर सम्पादक र ‘एडिटर’ को सम्बन्ध खोजेर त्यसको लेखाजोखा भएको देखिँदैन । त्यो ‘एडिटर्को राय’ अहिलेको जस्तो पत्रकारितामा प्रयोग हुने सम्पादकीय हो कि होइन ? अनि किन सम्पादकीय नछापिएर ‘एडिटर्को राय’ छापियो भन्ने प्रश्न अनुत्तरित मात्र होइन यस कोणबाट कुनै बहस भएको पाइएको पनि छैन ।

हो, गोर्खापत्र प्रकाशन सुरु गर्दाको सम्पादकको नाम मात्र होइन, ‘एडिटर’ को पनि नाम आएको छैन । गोर्खापत्रमा मात्र होइन, त्यससँग जोडिएका हालसम्म प्राप्त कुनै लिखत र अध्ययनले पनि गोर्खापत्रको त्यसबेलाको सम्पादक को थियो ? भन्ने उत्तर फेला पारेको छैन । गोर्खापत्र सुरु हुँदाको मात्र होइन सम्पादक भनेर जिम्मेवारी दिइएको वा नाम छापिन थालेको को थियो भन्ने नै बहसको विषय रहेको छ ।

गोर्खापत्र सुरु गर्दा किन ‘एडिटर्को राय’ नै लेख्नु पर्ने खण्डखातिर आइपरेको थियो भन्ने कुराको पनि लेखाजोखा कुनै लिखतले गर्दैन । तथापि तत्कालीन परिस्थिति, नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग परम्परा, पत्रकारिता वा पत्रपत्रिका प्रकाशनका लागि नेपालको आन्तरिक र बाह्य परिस्थितिको खोजी गरियो भने त्यसको केही धूमिल सत्य खुल्छ ।

गोर्खापत्रका नरदेव पण्डित हुनुहुन्थ्यो । पण्डित शब्द संस्कृत मूलको हो तर यो अङ्ग्रेजी परम्परामा पनि उत्तिकै प्रचलनमा छ । उत्तिकै मात्र पनि होइन पन्डिट (pʌndɪt) र प्यान्डिट (pændɪt) उच्चारण हुने गरी अङ्ग्रेजी डिक्सनरीहरूमा पण्डितको दोहोरो प्रविष्टि क्रमशः (pundit) / (pandit)  सहित प्रयोगको विशिष्ट परम्परा पनि छ । नेपाली परम्परामा पं. भनेर लेखिने जस्तै दुबैको छोटकरी रूप Pt. लेख्ने चलन छ । विभिन्न अङ्ग्रेजी शब्दकोशले दिएअनुसार अङग्रेजीको pandit  को अर्थ विभिन्न विषयको विद्वान् र उबलमष्त को अर्थ हिन्दु पुजारी हो । यो सबै संस्कृतबाट गरिएको नक्कल हो ।

अङ्ग्रेजीमा विद्वान् अर्थ दिने पण्डितको उपयोग प्रायः राजनीतिक टिप्पणीकार, वित्तीय विश्लेषक र समाचारका विश्लेषक वा स्तम्भकार जस्ता विचार निर्मातालाई उल्लेख गर्न व्यङ्ग्य सूचक रूपमा पनि प्रयोग हुने मेरियम वेबस्टरले जनाएको छ । यो सायद नेपालीमा अहिले यदाकदा प्रयोग हुने ‘फन्डित’ जस्तै हो । पत्रकारितामा ‘आफ्नै मात्र तर्क सही’ भन्ने स्थापित गराउन खोज्नेलाई दिने लक्षित अर्थ हो यो ।

यसै मेसोमा एउटा छलफललाई हेर्नु सान्दर्भिक हुन्छ । सन् २०१९ अक्टोबर २५ मा ‘न्युज लिटरेसी डटकम’ले आर पन्डिट्ज जनालिस्ट्स ? (के पण्डितहरू पत्रकार हुन् ?) भन्ने प्रश्नमा बहस चलाएको छ । सिसेल म्याक्कर्थीले छोटो उत्तर दिँदै लेख्नुभएको छ ः ‘इट डिपेन्डस्’ अर्थात् सन्दर्भ हेरेर हुन्छ । यसले कुनै पनि विषयको अध्ययन र अर्थ प्रदानमा सन्दर्भले विशेष अर्थ राख्छ भन्ने पनि अर्थ दिन्छ । पत्रकार आफ्ना विचारप्रति जवाफदेही हुने तर पण्डित चाहिँ आफ्नो वैचारिक प्रभुत्व जमाउने हुन्छन् भनी त्यसमा उल्लेख छ । पश्चिममा पत्रकारितामा ‘पन्डिट’ परम्परा निकै फस्टाएको छ । उदाहरणका लागि अमेरिकामा पन्डिट न्युज सर्भिस (Pundit News Service) सम्म खुलिसकेको छ । अब फेरि पण्डित शब्दकै आधारमा गोर्खापत्र प्रकाशनको आन्तरिक र बाह्य सन्दर्भ केलाउँदै प्रशासनिक र भाषिक क्षेत्रमा पण्डितको नेपाली आमप्रचलन हेर्नु सान्दर्भिक हुन्छ ।

गोर्खापत्र प्रकाशनको आरम्भ अङ्ग्रेजी दबाब र प्रभाव रहेको विभिन्न अध्ययनले देखाएका छन् । बेलायती पाहुना वा बेलायती कूटनीतिज्ञले समाचारपत्रको खोजी गरेका बेला गोर्खापत्र छापेर दिइएको भन्ने अप्रामाणिक कुरा पनि कतैकतै आएका छन् । जे भए पनि नेपालमा समाचारपत्रको प्रकाशन नभएको अवस्थामा त्यस्तो समाचारपत्रको आवश्यकता पहिचान नेपाली जनतालाई सुसूचित गर्ने भन्दा बढी बाह्य परिस्थितिकै कारण थियो भन्ने बेग्लै अध्ययनको विषय बन्ला । तर गोर्खापत्रलाई समाचारपत्रको संरचना र खाका निर्माणमा अङ्ग्रेजी वा बङ्गाली वा हिन्दी पत्रकारिता नै नमुनाका रूपमा थिए ।

त्यस आधारमा पत्रिकामा विचार दिनेलाई सम्पादक नभनी ‘एडिटर’ भन्नु कुनै नौलो थिएन र ‘एडिटर’ले दिने रायलाई ‘एडिटर्को राय’ लेखिनुमा पनि अचम्म हुँदैन । तर त्यो ‘एडिटर’ र पण्डित एउटै मानिस थिए कि थिएनन् ? भन्ने कुरा सम्पादकका अगाडि पण्डित लेख्ने प्रचलन थियो कि थिएन भन्ने आधारमा खोज्न सकिन्छ । त्यसका लागि सन् १८३६ मा भारतमा हिन्दी भाषामा प्रकाशित पहिलो समाचारपत्र ‘उदन्त मात्र्तण्ड’का सम्पादकलाई हेर्दा ‘एडिटर’ र सम्पादकको चित्र केही स्पष्ट देखिन्छ । 

कानपुरका पण्डित जुगलकिशोर शुक्लले सम्पादन र प्रकाशन गरेको उक्त पत्रिका डेढ वर्षसम्म प्रकाशन भएको थियो । त्यसबाट देवनागरी लिपिमा लेखिने पत्रकारितामा सम्पादकसँग पण्डित लेख्ने चलन सुरु भएको पाइयो । तिन्ताक छापा, साहित्य र शिक्षणमा कार्यरत पण्डित कहलिन्थे भन्ने कुरा नगेन्द्रमणि प्रधानले लेख्नुभएको डा. पारसमणिको जीवनयात्राबाट पनि थाहा हुन्छ– “त्यसबेला काशीमा नाउ चलेका प्रकाशक पं. विश्वराज हरिहर शर्माज्यूले दिनुभएको एक भारी भानुभक्तीय रामायण तथा अरू प्रकाशित नेपाली भाषाका पुस्तकहरू आफूसित ल्याई भारतका यस भेकमा इस्वी सन् १८९२ तिर सर्वप्रथम प्रचार र प्रसारमा लाग्नुभएको थियो ।” यो मिति दार्जिलिङमा ‘गोर्खे खबर कागत्’ र नेपालमा ‘गोर्खापत्र’ सुरु हुने झन्डै एक दशकअघिको हो । उहाँले पुस्तकभरि धरणीधर शर्मा (कोइराला) लाई पं. भनी सम्बोधन गर्नुभएको छ भने “त्यस समयमा पाठशालाका शिक्षकहरू पण्डित भनिन्थे” भनेर लेख्नुभएको छ ।

ऊ बेला ‘गोर्खे खबर कागत्’का सम्पादक गङ्गाप्रसाद प्रधानलाई पण्डित भनिएन बरु पाद्री (पादरी) भनियो । जेम्स अगस्टस हिक्कीले सन् १७८० मा सुरु गरेको भारतको पहिलो (भारतको मात्र नभई दक्षिण एसियाकै पहिलो) पत्रिका बङ्गाल गजेटका काम गर्नेमा हिक्कीका सहयोगी भने बङ्गालका पण्डितहरू नै थिए । 

शब्दकोशले पण्डितलाई शास्त्रको तात्पर्य बुझेका विद्वान् वा अध्यापक भनी अथ्र्याएको छ । ब्राह्मण जातिलाई आदर गरेर पण्डित भन्ने पनि चलन छ । जस्तै : पण्डित जवाहरलाल नेहरू । नेहरू काश्मिरी पण्डित परिवारका भएकाले पण्डित सम्बोधन गरिएको हो । पण्डित थर पनि हुन्छ र नेपालमा पनि पण्डित थरका मानिस छन् । यसै सन्दर्भमा अब फेरि नेपालतिर हेरौँ । 

शब्दकोशमा संस्कृतको वा अन्य भाषाको विद्वान् व्यक्तिलाई पण्डित भनिएको पनि फेला पर्छ । यस आधारमा भाषासँग खेल्ने विद्वान् पण्डित भनिन्थे । राणाकालमा पण्डित भनेर नामको अघिल्तिर उल्लेख गरिएको पाइएमा ती भाषासँग सम्बन्धित व्यक्ति भन्ने लिखतले देखाउँछन् । ती अहिलेको प्रचलन अनुसार सम्पादक (पत्रकार) वा शिक्षक हुन् भनी ठह-याउन सकिन्छ । राणाकालमा तीन निकायका व्यक्तिका नामका अघिल्तिर पण्डित उपमा झुन्ड्याइएको पाइन्छ : ‘गोर्षापत्र छापाषाना’, ‘गोर्षा भाषा प्रकाशन समिति’ (पछि नेपाली भाषा प्रकाशन समिति) र ‘संस्कृत तथा भाषापाठशाला’ । तर ती निकायमा कार्यरत सबैलाई भने पण्डित उपाधि दिइँदैन थियो ।

राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत १९१० सालदेखिका ‘खान्गीका लगत’ अर्थात् ‘निजामती थमौती’मा कुन कर्मचारी कुन निकायका जागिरे हुन्, उनको थमौती भयो वा खारेजीमा परे र निजको वार्षिक तलब कति ठेकिएको हुन्थ्यो भन्ने पाइन्छ । 

नेपाल संवत् १९५८ साल मिति वैशाख बदी ११ रोज २ को सनदमा “पंडित नरदेव पाँडेले पुर्जि हेरी गोर्षाली अषबार हप्तावारी जम्मा १००० थान छापा गरी जारी गर्ने काम तिम्रा तालुकमा राषी बक्स्याको हुनाले सो कामलाई मद्दतसमेत गर्न टायप छापाखाना लेथोग्राफ छापाखाना समेत गाभी तपसीलबमोजिम उर्दि सवाल गरि बक्स्याको छ सो बमोजिमको रीत पु¥याई कामकाज गर” भनेर उल्लेख गरिएको थियो । यसबाट राज्यकोषले गोर्खापत्र (गोरखापत्र) लाई सुरुदेखि नै आर्थिक रूपमा सघाएको थियो अर्थात् राज्यद्वारा नै पालन गरिएको थियो भन्ने पुष्टि हुन्छ । गोर्खापत्र छापाखानाका बारेमा १९६० सालदेखिको निजामती थमौतीमा उल्लेख पाइन्छ । त्यो अवस्थामा पक्कै पनि कारिन्दाका लागि खान्गी ठेकिएको हुनुपर्छ । तर १९५८ र १९५९ सालको निजामती थमौतीमा गोर्खापत्रका बारेमा उल्लेख भएको देखिँदैन । ढड्डा सग्लो अवस्थामा छ । यस अवस्थामा कसरी छुट्यो वा के कति कारणले लेखिएन भन्ने अनुसन्धानको विषय हुन सक्छ । 

१९६० सालको निजामती थमौतीमा चाहिँ प्रस्ट उल्लेख छ– 

“गोर्षापत्र छापाषानाको काम गर्ने तपसिलका कामदार कारिन्दा जवान १० लाई राजा जयपृथ्वीबहादुर सींमार्फत छापाषानाका हाकिम सुब्बा वीरेन्द्र केसरी पंडितले सही छाप गरिदियाका ३ पुस्ते हाजिर बमोजिम थप सो गोर्षापत्र छापाषानामा काम गर्ने कामदार कारिन्दा जवान १ को सुब्बा वीरेन्द्र केशरी पंडितले सही छाप गरिदियाका ३ पुस्ते हाजिर बमोजिम ६० साल वैशाख मैन्हा देषी तलब खाने जवान १० के वर्ष १ के मोरु ।

पंडित उदयदेव पाँडे (भन्सारहिटी) का लागि वार्षिक तीन सय मोरु, ऐ. चीरंजीवी पौड्याल (नक्साल) का लागि वार्षिक २६४ मोरु, ऐ. नरेन्द्रकेशरी अज्र्याल (इन्द्रचोक) का लागि वार्षिक २२२ मोरु” कायम गरिएको पाइन्छ । त्यसपछि नौसिन्दा जीतबहादुर, लेषन्दास सिद्धिप्रसाद, ऐ. कृष्णवीर, ऐ. गंगालाल आदिको नाम उल्लेख छ ।

यहाँ प्रस्ट हुनपर्ने कुरा के छ भने सुब्बा वीरेन्द्रकेशरीको थर पण्डित होइन । पछिका निजामती थमौतीमा सुब्बा वीरेन्द्रकेशरी पाध्या पनि लेखिएको छ । यसर्थ पछाडि ‘पंडित’ उनको उपाधि हो जुन कामका कारण दिइएको थियो । त्यस्तै उदयदेव, चिरन्जीवी र नरेन्द्रकेशरीको नाम अघिल्तिर ‘पंडित’ उल्लेख हुनुले उहाँहरू सम्पादकीय भूमिकामा हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ । गोरखापत्रमा काम गर्ने सबै कारिन्दाले पण्डित उपमा पाउँथे भने लेखन्दास, कम्पोजिटर, नौसिन्दा, करेक्टर आदिका नामका अघिल्तिर पनि अवश्यै सो लेखिनुपथ्र्यो । 

१९६० सालमा कायम भएको दरबन्दीलाई सोही वर्षको असोज २९ गतेको दुई छापे सनदबमोजिम खारेज गरी नयाँ दरबन्दी कायम गरियो । सबैलाई खारेजीमा पारियो र नयाँ थमौती कायम गरियो– “गोर्षापत्र छापाषाना रसीद चिठी टिकट अडा केटाकेटी पढाउने किताप तर्जुमा अडासमेतको तैनाथ बमोजिम बझांगी राजा लेफ्टेन्ट कर्णेल जयपृथ्वीबहादुर सिं साविक गोर्षापत्र छापाषाना केटाकेटी पढाउने तर्जुमा अडा रसीद टिकट अडाका साविक कामदार कारिन्दा खर्च मोरु ३५०४ ।” यसबाट उल्लिखित सबै अड्डाका लागि तीन हजार ५०४ रुपियाँ विनियोजन गरिएको देखिन्छ ।

“साल ६० आसिन (आश्विन) २७ गते खारेज गरिबक्सी सोही मितिमा तपसिलका दरले मोरु ३४८४ को कारिन्दा खर्च गर्ने गरी ६० साल कात्तिक महिना देषी तलब खाने गरी दरिदिनु” भन्ने ६० साल मार्ग २ गतेका थप दरबन्दीका २ छापे सनद बमोजिम “६० साल आसिन २७ गते दर्शन गर्ने जवान के मोरु पंडित उदयदेव पाँडे (हाडिगाउँ) र ऐजन वीरेन्द्रकेशरी पाध्या (इन्द्रचोक)को वार्षिक खान्गी तीन सय मोरु” ठेकियो । नयाँ सनदबाट छापाखानाका हाकिम वीरेन्द्रकेशरीलाई उदयदेव पाँडेपछिको रोलमा राखियो भने चिरन्जीवी तेस्रो स्थानमा आइपुगे र नरेन्द्रकेशरी हटाइए । करेक्टर कलानाथ लोहनी थमौतीमा परे भने नायबराइटरका रूपमा बखतमान ल्याइए । पहिलेका कम्पोजिटर हरिप्रसाद र सुर्जेबहादुर विस्थापितमा पर्नुभयो र टेकबहादुर खत्री ल्याइनुभयो ।

१९६२ सालमा फेरी नयाँ दरबन्दी कायम गरियो । नयाँ दरबन्दीअनुसार वीरेन्द्रकेशरी पाध्यालाई गोर्षापत्र छापाषाना, चिठी टिकट अडा र केटाकेटी पढाउने किताप तर्जुमा अड्डाको समेत जिम्मेवारी दिएर वार्षिक खान्गी छ सय मोरु पु¥याइयो । यो नयाँ दरबन्दीमा उदयदेवपछि पुनः नरेन्द्रकेशरीलाई राखियो र चिरन्जीवी तेस्रामा दरिनुभयो । यसै वर्षको कात्तिक ११ गते उदयदेव र नरेन्द्रकेशरी केटाकेटी पढाउने किताप तर्जुमा अड्डामा सरुवा हुनुभयो । ‘षबर लेख्ने गरी’ चिरन्जीवीलाई थमौती गरियो । 

१९७५ साल आइपुग्दा गोर्षापत्रका हाकिम डिठ्ठा उपेन्द्रबहादुर बस्न्यातलाई बनाइयो जब कि उहाँको मातहतमा सुब्बा वीरेन्द्रकेशरी पाध्यालाई राखियो । त्यो बेलाको पद सोपानअनुसार सुब्बाभन्दा डिठ्ठा तीन तह तल हुन्थ्यो । डिठ्ठा उपेन्द्रबहादुरको खान्गी नखुले पनि वीरेन्द्रकेशरीको वार्षिक छ सय मोरु कायम थियो । अखबारको उल्था गर्ने पण्डित उदयदेव पाँडे र पण्डित कृष्णचन्द्र पाध्या हुनुहुन्थ्यो । त्यतिन्जेल अङ्ग्रेजी कम्पोजिटर, कम्पोज गर्ने, राइटर, नौसिन्दा, प्रेसम्यान आदिको पनि दरबन्दी थियो । ती प्राविधिक थिए तर अखबारको उल्था गर्ने वा भाषाको काम गर्ने पदलाई पण्डित नै भनिन्थ्यो । 

यो पत्रकारितातिरको कुरा भयो अब शिक्षातर्फ हेरौँ । त्यस बेला संस्कृत पाठशाला, भाषा पाठशाला, अङ्ग्रेजी स्कुल आदि थिए । १९६० सालकै निजामती थमौती अनुसार त्यस वर्ष पाठशालाका पण्डित विष्णुहरि रिमाल, पण्डित गोपाल पाँडे, पण्डित हरिनाथ प्याकुरेल, पण्डित तोयनाथ पन्त, पण्डित गङ्गादत्त गोतामे र पण्डित विश्वनाथ रिमाल शिक्षक हुनुहुन्थ्यो । तर उही भवनमा रहेको दरबार स्कुलका शिक्षकका अघिल्तिर पण्डित लेखिँदैन थियो । निजामती थमौतीमा प्रिन्सिपल वटुकृष्ण, हेडमास्टर शारदाप्रसाद, मास्टर जोतेन्द्रमोहन सेन, मास्टर ईश्वरीदत्त नुर, मास्टर बाबुराम ढुङ्गाना लेखिन्थ्यो तर दरबार स्कुलमै संस्कृत पठाउनेलाई हेड पण्डितको दर्जा दिइन्थ्यो । यसबाट नेपाली वा संस्कृत भाषासम्बन्धी काम गर्नेलाई पण्डितको उपमा दिने गरिएको प्रस्ट हुन सकिन्छ ।

अब १९३७ सालको निजामती थमौतीमा भएको व्यवस्था पनि हेरौँ । त्यसमा ‘मास्टर ऐहिकचन्द्र चक्रवर्ति, मास्टर हेमचन्द्र भट्टाचार्य, मास्टर अमृतलाल, पण्डित हरिज्यू, संस्कृत पढाउन्या पण्डित अग्निदत्त पन्थ’ छन् । थमौतीमा “पाठशालामा बसी पढाउन्या पंडितहरू र सो पाठशालामा काजकाम गर्ने समेत संक्रान्तिका हिसापले कौसितोसाषानाबाट मैन्हावारी तलब खाने जवान” उल्लेख भएको पाइन्छ । “षडंग वेदार्थ 

कर्मरासी अम्बरकोस पढाउन्या चन्द्रदत्त पण्डित देवकोटा उपाध्याय, ज्योतिष फल ग्रन्थ र काव्य पढाउन्या तोयेनाथ पन्त पंडित, वैयाकर्न पढाउन्या डमरुबल्लभ पन्त पंडित, वैदिक वेद पढाउन्या पद्मकान्त भट्टराई पंडित, न्याये शास्त्र पढाउन्या गंगादत्त पण्डित गोताम्या, गणित पढाउन्या गोपाल पाँडे पंडित, हाजिरी गन्र्या श्रीभक्त ख¥याल ।” चन्द्रदत्त लगायत सबैको थर अगाडि वा पछाडि पंडित उपाधि दिने चलन रहेकोमा कहिले अगाडि र कहिले पछाडि पनि पंडित लेख्ने गरिएको प्रस्ट हुन्छ । हाजिरीको काम गर्ने भएकाले श्रीभक्त खरेलले पंडितको उपाधि पाउने कुरै भएन ।

गोर्खापत्रका जन्मदाता देवशमशेरले भाषा पाठशाला पनि स्थापना गर्न लगाउनुभयो । उपत्यकाका सहरमा त्यस्ता पाठशाला स्थापना गरिए । त्रिपुरेश्वरमा खुलेको भाषा पाठशालामा पण्डित गोपाल भट्ट र ऐजन शिवदत्त पन्त, देउपाटनमा पण्डित चन्द्रदत्त लामिछाने, पाटनमा पण्डित भूरमण र ऐ. घनश्याम भट्टराई, भादगाउँमा पण्डित धर्मदत्त आचार्य र ऐ. देवदत्त ढुङ्ग्याल आदि हुनुहुन्थ्यो । भाषा पाठशालाका सबै शिक्षकका अगाडि पण्डित नै उल्लेख गरिएको थियो । भाषा पाठशालाका पण्डित नेपाली विषय अध्यापन गर्थे । तिनै पाठशालामध्ये कतिपय २००७ सालपछि आधुनिक विद्यालयमा रूपान्तरण भए र त्यहाँबाट अवकाश पाइसकेका शिक्षकलाई निकै पछिसम्म पनि समाजले हेड पण्डित र पण्डित भनेर सम्बोधन गर्ने चलन थियो । २०२२ सालमा पनि संस्कृत पाठशालाका लागि पण्डितको आवश्यकतासम्बन्धी विज्ञापन गोरखापत्रमा प्रकाशन भएको थियो ।

चन्द्रशमशेरका नजिकका पात्र राममणि आचार्य दीक्षित १९७० साल पुस २९ गते चन्द्रशमशेरबाट ‘गोर्षा भाषा प्रकाशन समिति’ बक्साउन सफल हुनुभयो । गोर्षा भाषा प्रकाशन समिति देवनागरी लिपिमा “हाम्रा सोदेसी भाषाको गोर्षा भाषा प्रकास समेटी षडागरी तपसीलका दरले नायव सुब्बा रामणि आदीका नाउमा सनद गरिबक्स्याको हुनाले सो तपसीलका जवानलाई हाम्रा हजुरमा दर्शन गराई भर्ना भयाका पहिला मैन्हा देषी नीज नासु राममनी आदीका रपोट बमोजिम कौसी तोसा षानाबाट तलव षाने गरी दरि दीनु भन्ने ७० साल पौष २९ गते २ मा षड्ग नीसाना सनद बमोजिम गोर्षा भाषा प्रकाश समिति षडा भयाको ७० साल पौष २९ गते भर्ना भयाका जवान ५ के तलव मोहरू

पंडीत चक्रपाणी चालिसे कटुन्जे फागुन १६।६ का षड्ग निसाना सनदले १ २५ ३०० मोरु

पंडीत हरिप्रसाद पाध्या भोटाहिटी काठामाडौँ पाठशालाको सरुवा ऐ १६।६ का ऐ ले २५ ३००

लेषने काम गर्ने पंडीत रामचन्द्र पाध्या भोटाहिटी  

१ १३ १५६

लेषने इश्वरी प्रसाद पाध्या षीचा पोषरी

१ १२ १४४” 

पछि शुक्रराज शास्त्रीले पनि त्यहाँ जागिर पाउनुभएको थियो । केही वर्ष उहाँले त्यहाँ काम गर्नुभएको थियो । तर उहाँलाई पण्डित भनिएन, मास्टर दर्जा दिइयो । सम्भवतः उहाँ नेवार भएकाले त्यस्तो गरिएको हुनसक्छ ।

२०३० साल वैशाख २४ गतेको गोरखापत्रमा वासुदेव शर्मा लुइँटेलले आफू नेपाल भाषा प्रकाशन समितिमा ‘पण्डित’ भएको र आफूभन्दा माथि ‘प्रुफ पण्डित’ र ‘पास पण्डित’ थिए भनेर लेखमा उल्लेख गर्नुभएको पढ्न पाइन्छ । समितिको जागिर छाडेर गोरखापत्रमा आबद्ध हुनुभएका लुइँटेलले सुरुमा तलब नपाउनुभएपछि समितिका हाकिम सागरमणिले भन्नुभएको थियो, “पण्डितजी, तपाईँको यता (गोरखापत्र) सदर नहुन्जेल समितिबाटै तलब खुवाउनू भन्ने अमिर हजुर जर्साबको प्रमाङ्गी छ ।” 

बाह्य र आन्तरिक यी परिस्थिति र तथ्यका आधारमा पत्रकारिताका सन्दर्भमा निष्कर्ष हुन्छ ः सम्पादक अर्थात् पण्डित अनि पण्डित अर्थात् ‘एडिटर’ । यति भएपछि गोर्खापत्रको पहिलो अङ्कमा ‘एडिटर्को राय’ लेख्ने पनि पण्डित थिए र ती ‘पंडित’ नरदेव पाँडे नै थिए भन्न हिच्किचाउनु पर्दैन । ऊबेला सम्पादकीय नभनी ‘एडिटर्को राय’ लेख्नेलाई अहिलेको सन्दर्भको सम्पादक भन्न पनि सकिने भयो ।


(स्रोत : गोर्खापत्र वा गोरखापत्रका विभिन्न अङ्क, विभिन्न सालका निजामती थमौती, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, अभिलेख पूर्णाङ्क ३८ र डा. पारसमणिको जीवनयात्रा, उदन्त मात्र्तण्ड को पहिलो अङ्क आंशिक तथा हिक्कीको बङ्गाल गजेटको पहिलो अङ्क र इन्टरनेटका विभिन्न सामग्री)  

Author

केदार वाशिष्ठ / प्रकृति अधिकारी