• १० पुस २०८१, बुधबार

दैलेखका ७३ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन

blog

कमल शर्मा

दैलेख, वैशाख १९ गते । दैलेखका ११ स्थानीय तहका ९० वडामध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। 

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले दैलेखका ९० वडामै राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको र अहिलेसम्म ७३ वडामा विद्युत् प्रसारण लाइन जोडिएको जानकारी दिनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको ४२ करोड रुपियाँ लागतमा विद्युत् विस्तारको काम ९० प्रतिशत सकिएको र यो आर्थिक वर्षमा ११ करोड ६२ लाख रुपियाँको काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “११ स्थानीय तहमध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकाबाहेक आठ स्थानीय तहका वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ, महाबु गाउँपालिकाका तीन वडामा विद्युत् विस्तारका लागि लाइन तानेर चार्ज गरिएको र छिट्टै विद्युत् बल्नेछ।”  

उहाँका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, आठबिस नगरपालिकामा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय र ऊर्जा विकास कार्यालयबाट प्राप्त ३२ करोड रुपियाँमा काम भइरहेको छ। वितरण केन्द्रका प्रमुख पाण्डेले गुराँस, भगवतीमाई, डुगेश्वर, नौमूले र भैरवी गाउँपालिका तथा नारायण र दुल्लु नगरपालिकामा विद्युत् विस्तार भएको र महाबुको तीन वडामा विद्युत् पुगेसँगै आठवटा स्थानीय तहमा विद्युत् विस्तार हुने जानकारी दिनुभयो। 

राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जाँदासमेत जिल्लामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली प्रसारण लाइनमा जोड्ने गरिएको छ। 

यस जिल्लाको नौमूले गाउँपालिका–३, द्वारीमा निर्माण भएको द्वारीखोला हाइड्रोपावर (३.७५ मेगावाट) र सोही गाउँपालिका–४ मा निर्माण भएको पदमखोला हाइड्रोपावर(४.५ मेगावाट) उत्पादन भएको विद्युत्लाई ग्रिड लाइनमा बत्ती नआएको बेला आइसोलेसन हालेर विद्युत् खपत गरिएको वितरण केन्द्र दैलेखले जानकारी दिएको छ।