• ११ जेठ २०८१, शुक्रबार

समयमै आइपुग्यो पाठ्यपुस्तक

blog

लाहान समाचारदाता

लाहान, वैशाख ९ गते । शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु-याउन थालिएको छ। समयमा पाठयपुस्तक पुग्दा शैक्षिक अवस्थामा सुधार हुने विश्वास व्यक्त भइरहेको छ। गतवर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात/आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो। 

लाहान नगरपालिका–१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक दोस्तबहादुर भट्टराईका अनुसार यस वर्ष समयमा पाठ्यपुस्तक आएको हो। पाठ्यपुस्तक वितरण गरेपछि शैक्षिक सत्रमा पढाइ पनि आधा वैशाखबाट नै सुचारु हुने तयारी छ। पाठ्यपुस्तक समयमै पु-याउन सम्बन्धित निकायहरूले देखाएको तदारुकता प्रशंसनीय छ। 

सिराहामा पाठ्यपुस्तक पु-याउने बिक्रेता मनीष पुस्तक पसल लहानका सञ्चालक रङ्गलाल साहले भन्नुभयो, “पाठ्यपुस्तक ल्याएर विद्यालयमा पु-याउने कार्य तीव्र गतिमा भइरहेको छ। जिल्लाका १७ वटै पालिकाले पाठ्यपुस्तकका लागि आएको रकम समयमै निकासा दिँदा सजिलो हुने थियो।” 

स्थानीय अभिभावक रामविहारी साहले भन्नुभयो, “यस वर्ष निजी विद्यालयभन्दा पनि चाँडो पाठ्यपुस्तक पु-याउने सरकारको कार्यबाट अभिभावकहरू खुसी छन्। सामुदायिक विद्यालय र निजी विद्यालयको पाठ्यपुस्तकमा समानता ल्याइदिए झनै राम्रो हुने थियो।”   

सबै स्थानीय तहले पाठ्यपुस्तक र शिक्षकहरूको पोसाक भत्तालगायतका रकम निकासा गर्नेतर्फ सहजीकरणका लागि पहल थालिसकेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले बताउनुभयो। सामुदायिक विद्यालयको सुधारका लागि आवश्यक संयन्त्र बनाएर नियमित अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।