• १३ साउन २०८१, आइतबार

निर्माणाधीन दमक भ्युटावरमाथि प्रश्न

blog

भउचप्रसाद यादव / विष्णुप्रसाद पोखरेल

काठमाडौँ/दमक, वैशाख ९ गते । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६/७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो ।

२०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२) मा प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन, आर्थिक, प्राविधिक तथा प्रशासनिक उपयुक्तताका आधारमा प्रतिफलको समेत विचार गरी आयोजना स्वीकृत हुनुपर्ने” उल्लेख भएको जनाउँदै उक्त भ्युटावर बनाउँदा त्यसो नगरिएको ठहर गरिएको थियो ।

२०७८ पुस २७ भित्र काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशीष र ओम साईराम जेभीसँग २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख रुपियाँको सम्झौता भएको थियो । पछि त्यो म्याद २०८० असार २७ सम्म थपिएको छ । तर त्यस समयमा पनि निर्माण नसकिने भएको छ । समयमा नसकिएको बारे २०७९ सालमा प्रस्तुत ५९औँ प्रतिवेदनमा पनि प्रश्न गरिएको छ ।

त्योभन्दा पनि महालेखाको प्रश्न माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी आयोजना सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको भन्ने हो । निर्धारित समयमा निर्माण पूरा नभएपछि आयोजनाको म्याद र लागत दुवै बढाइएको छ । महालेखाको २०७९ को ५९औँ प्रतिवेदनअनुसार समयमा र निर्धारित लागतमा निर्माण नसकिएपछि २०७७ फागुन ७ गते भेरिएसनबाट दुई करोड सात लाख ६७ हजार रुपियाँ थप भई संशोधित सम्झौता रकम एक अर्ब ५८ करोड २२ लाख रुपियाँ पुगेको छ । यो वर्षसम्म ६७ करोड ३३ लाख छ हजार रुपियाँ भुक्तानी भइसकेको छ र भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । उक्त टावर निर्माण कार्यको सुरुमा तोकिएको म्याद समाप्त भइसक्दा १२ तलासम्मको संरचना मात्र तयार भएको देखिन्छ ।

२०७९ को ६०औँ प्रतिवेदनमा महालेखाले भ्यु टावरमा सपिङ मल, बैङ्कलगायतका कर्पाेरेट हाउस एवं सिनेमा हलजस्ता सुविधा रहने विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख भए पनि दमक बजारक्षेत्रबाट उत्तरतर्फ भौतिक पूर्वाधार नपुगेको पाँच बिघा क्षेत्रफलमा फैलिएको यो भ्युटावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नभएको पुनः उल्लेख गरेको छ । माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी यस्ता आयोजना सञ्चालन गरिनुपर्दछ ।

सङ्घीय सरकारको बजेटबाट निर्माण हुने तर स्वामित्व दमक नगरपालिकामा रहने यस आयोजनाबारे महालेखाको प्रश्नमा अहिलेसम्म कुनै काम भएको छैन । बरु पछिल्लो पटक आगामी असार २७ सम्म निर्माण सक्नुपर्ने भए पनि फेरि समय र बजेट माग्ने प्रस्ताव गर्न लागिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका साइट इन्जिनियर भूपेन्द्र यादवका अनुसार भ्युटावरको ८० प्रतिशत मात्र काम सकिएको छ । १८ तलाको कङ्क्रिटको काम सकिएर मेटलको काम सुरु भएको छ ।  

तर यो अवधिमा काम सक्न मुस्किल छ । उहाँले अझै पनि चारदेखि पाँच महिना थप समय र थप बजेट माग्ने तयारी रहेको बताउनुभयो । 

सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख माचाकाजी महर्जनले दमक भ्युटावर सञ्चालनबाट लगानीको प्रतिफल प्राप्त हुनेबारे अहिलेसम्म कुनै अध्ययन नभएको बताउनुभयो । उहाँले अहिलेसम्म सो भ्युटावर सञ्चालन कार्यविधिसमेत निर्माण नगरिएको स्वीकार गर्नुभयो । 

उहाँले भन्नुभयो, “सरकारले निर्माण गरेका सभाहलको सञ्चालन कार्यविधि अहिले निर्माण भइरहेको छ । त्यसैमा 

सरकारद्वारा निर्मित भ्युटावर सञ्चालन कार्यविधिसमेत समेटिने छ । दमक भ्युटावरको निर्माण सम्पन्न हुन्जेलसम्म सो कार्यविधि पनि निर्माण भइसक्ने छ ।”

सो भ्युटावरमा भएका ‘रेन्टल स्पेस’लाई भाडामा दिएर, विभिन्न कर्पोरेट कार्यालयलाई भाडामा दिएर, टावरको सबभन्दा माथिल्लो भागमा जान लाग्ने शुल्क तथा विभिन्न मनोरञ्जन शुल्कबाट भ्युटावर निर्माणमा भएको लगानी उठाउने योजना रहेको कार्यालय प्रमुख महर्जनको भनाइ छ । 

दमक नगरपालिका–३ स्थित टुकुरेमा बन्दै गरेको नेपालकै सबैभन्दा अग्लो भ्युटावर बनाउने सोच दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालको हो । तर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली चढेको हेलिकोप्टर २०७५ फागुन १५ गते ताप्लेजुङमा दुर्घटना हुँदा उहाँको पनि सोही दुर्घटनामा निधन भइसकेको छ । वि.सं. २०७२ मा उहाँले उक्त योजनाका विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बताएपछि काम अघि बढेको थियो । त्यसपछि उहाँको सचिवालयले नै काम अगाडि बढाएको थियो ।

जग्गाको मूल्य आकासियो

भ्युटावरको चर्चा सुरु भएपछि स्थानीय जग्गा व्यवसायीले कोहीसँग पार्क बनाउन त कोहीसँग कृषि फार्म खोल्न भन्दै जग्गा किनेका थिए । भ्युटावरका लागि जग्गा खोजी गर्ने क्रममा हाउजिङ कम्पनीसमेत सञ्चालन गरिरहेका केवलीप्रसाद खरेल, टङ्कप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईंले भ्युटावरका लागि जग्गा उपलब्ध गराउनुभएको थियो ।

त्यसरी जग्गा दिनेमध्येका रुद्रप्रसाद दाहालले “बिजनेस टावर बनाउन खोजिँदैछ भनेर जग्गा चाहिएको कुरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले प्रस्ताव गरेपछि आफूहरू मिलेर जग्गा खोजेको” बताउनुभयो । केही बढी जग्गा आफूहरूसँग रहने सोचेको भए पनि त्यो नभएको उहाँको भनाइ छ ।

उहाँले सुरुमा तीन बिघा भनेर दिएको तर पछि पाँच बिघा चाहिन्छ भनेपछि आफूहरूको धेरै नै जग्गा गएको दाबी उहाँले गर्नुभयो । पञ्चकन्या हाउजिङमार्फत जग्गा उपलब्ध गराएको र आफूहरूसँग पुगनपुग दुई बिघा जग्गा मात्र रहेको उहाँले बताउनुभयो ।  

२०७३ मा दमक नगरपालिकालाई जग्गा प्राप्त भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्युटावर शिलान्यास गर्नुभएको थियो । ओली प्रधानमन्त्री रहेको समयमा उक्त योजना परेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दाहाल प्रम ओलीकै सचिवालयमा कार्यरत रहनुभयो । 

दमक बजारभन्दा निकै टाढा रहेको भ्युटावरबाहेकको खास कुनै संरचना नभएको स्थल आसपास अहिले जग्गा जमिनको मूल्य भने आकासिएको छ । यसको लाभ जग्गाधनीले कम र जग्गा व्यवसायीले बढी पाउने गरेको अवस्था छ । भ्युटावर निर्माणअघि तीनदेखि पाँच लाख रुपियाँ कठ्ठा सजिलै पाइने गरेको जमिनको मूल्य अहिले १० गुणासम्म बढेको छ । 

वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले भन्नुभयो, “भ्युटावर जति बन्दै गयो त्यति नै जग्गाको भाउ पनि बढेको पाएका छौँ ।” उहाँका अनुसार भ्युटावरसँग व्यवस्थित बसोबासका लागि भ्युटावर आसपास पाँच सय मिटर क्षेत्रको जग्गा खण्डीकरण रोक्न नगरपालिकाले जग्गा पास नगर्न मालपोत र नापी कार्यालयलाई पत्र काटेको छ । त्यसअनुसार अहिले पाँच सय मिटर क्षेत्रको जग्गा औपचारिक रूपमा किनबेच हुँदैन । घरजग्गा व्यवसायीले भित्रभित्रै कागजी रूपमा भने किनबेच गर्दै आएका छन् । 

उपयोगमा अन्योल

सङ्घीय, प्रदेश र स्थानीय निर्वाचनमा भ्युटावरको उपयोगको विषयमा पनि निकै चर्चा चलेको थियो । नेकपा (एमाले)बाहेकका राजनीतिक दलहरूले दमक भ्युटावरमा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने माग अघि सारेका थिए । नेकपा (माओवादी केन्द्र)का नेता गगन पुरीले भ्युटावरको सट्टा यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल वा खानेपानी तथा विद्यालय आवश्यकता रहेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले आफूहरूले मिल्छ र सकिन्छ भने यसलाई अस्पतालका रूपमा विकास गरौँ भनेको बताउनुभयो । 

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा भने जुनसुकै सोचले बनाए पनि यो नेपालकै अग्लो व्यावसायिक टावर भएकाले यसको अधिकतम उपलब्धि लिन नगरपालिकाले योजना बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै हामीले प्राप्त गरेका छैनौँ र के गर्छौं भनेर भन्नसक्ने अवस्था छैन ।” उहाँले आफूहरूको जिम्मा आइसकेपछि मात्र उपयोगका विषयमा छलफल गरेर धारणा बनाइने पनि बताउनुभयो ।