• ७ जेठ २०८१, सोमबार

कुवेतमाथि युएईको सानदार जित

blog

एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्दै युएई र कुवेतका खेलाडी । तस्बिरहरु : विकास द्वारे

काठमाडौं, वैशाख ६ गते । एसीसी प्रिमियर कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले कुवेतमाथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले हरायो । 

समूह ‘बी’ मा रहेको युएईले सानदार सुरुवात गरेको हो । जितका लागि युएईले दिएको तीन सय ७२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सवै विकेटको क्षतिमा दुई सय २८ रनमा समेटिएको थियो ।

कुवेतका लागि सायद मोनिबले ६८ रन बनाउनुभयो । प्रविन्दर कुमारले ५३ र कप्तान मोहम्मद अस्लामले ३३ रन बनाउनुभयो । बलिङमा युएईका जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले तीन तीन विकेट लिनुभयो । जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले एक एक विकेट झार्नुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ७१ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित सतकीय पारी खेल्नुभयो ।

अरविन्दले एक सय ८५ र मुस्ताफाले एक सय १८ रन बनाउनुभयो । मुस्ताफा र अरविन्दबीच चौथो विकेटका लागि दुर्य सय ७५ रनको विशाल साझेदारी गर्नुभएको हो । आसिफ खानले ३० रन जोड्नुभयो । 

बलिङमा कुवेतका प्रविन्दर कुमार र शाहरुख कुदरुसले दुई दुई विकेट लिनुभयो । सयद मनिब र यासिन पटेलले एक एक विकेट लिनुभयो । जितसँगै युएईले समूहमा दुई अंक बनाएको छ । कुवेतले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

यसैगरी मुलपानी मैदानमा भएको समूह ‘ए’ को अर्को खेलमा ओमानले कतारलाई ४० रनले हराएको छ । नेपालको समूहमा रहेको ओमानले जितसँगै दुई अंक बनाएको छ ।

कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । जितको लागि दुई सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय नौ रनमा समेटिएको थियो । 

प्रतियोगिता अन्तर्गत बिहीबार त्रिवि मैदान कीर्तिपुरमा बहराइन र सिंगापुर तथा मुलपानीमा साउदी अरब र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।


एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 


शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।