• १३ साउन २०८१, आइतबार

मौलाकालिका केवलकार सञ्चालनमा

blog

होमराज रानाभाट 

गैँडाकोट, बैशाख १ गते । देशकै प्रसिद्ध धार्मिक स्थल पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आजदेखि मौलाकालिका केवलकार सञ्चालनमा आएको छ। निर्माणका लागि एक वर्षदेखि निर्माणका काम सुरु गरिएको केवलकार आज नयाँ वर्ष २०८० को अवसर पारेर सञ्चालनमा आएको केवलकारका निर्देशक भीम प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । 

गैँडाकोट १ धारापानीमा चढ्ने गरी स्टेशन रहेको र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्बाइ १२ सय मिटर छ। छ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा छन् भने एउटा डब्बामा आठ जना अट्ने र प्रतिदिन छ हजारले चढन सक्ने निर्देशक पौडेलले बताउनुुभयो ।  

“धेरै संरचना निर्माण गर्नुनपर्ने भएकाले पनि एक वर्षमै काम सकिएर यो सञ्चालनमा आएको हो । ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहेको यो केवलकार सुविधा सम्पन्न होटलसहित करिब दुई अर्ब लागतमा केवलकार निर्माण भएको हो," पौडेलको भन्नुभयो, “आयोजनाप्रति अपनत्व हुने आशाले स्थानीयको पनि लगानी छ।" 

स्थानीयको पनि लागत साझेदारी हुने भएकाले यसले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउने नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुुभयो । उद्योग वाणिज्य महासङ्घका नव निर्वाचित अध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले निर्माणको जिम्मा लिएको हो । कम्पनीका प्रोजेक्ट म्यानेजर भीम शर्मा पौडेलले १४ महिना भित्र केवलकार निर्माण सम्पन्न गरी सञ्चालनमा आएको बताउनुभयो । 

साना ठूला गरी एक हजार ३८ वटा रुख काटिएको र चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले कामको जिम्मा पाएको थियो । मौलाकालि देवीको दर्शनसँगै यहाँको पर्यटन प्रवर्धनका साथै विकास र रोजगारीका अवसर बढ्ने स्थानीयको भनाइ छ । 

मौलाकालिका केवलकारको निर्माणसँगै आजबाट सुरु भएको यो केवलकार सञ्चालनमा आएपछि मन्दिरको विकाससँगै पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने विश्वास छ ।