सूर्य आज मेष राशिमा प्रवेश गरेको छ । सूर्यसँग सम्बन्धित हाम्रो राष्ट्रिय पात्रो नयाँ आएको छ । अँध्यारो हटेपछिको नयाँ बिहान, नयाँ हावा र राग । खडेरीमा पात झरेर उराठ, सुक्खा वनस्पतिका झिक्रा नयाँ पल्लव र पुष्पले कुत्कुतिएका छन् । चराचुरुङ्गी वंशचक्र जोगाउने अनुरागमा उन्मत्त छन् । बिहान उज्यालो भयो, उठ् भन्दै आफ्नै भाषामा सन्देश दिने चराले कानमा सुरिलो सन्देशदिएपछि झस्किँदा शङ्खघण्टाका ध्वनिको तालमा ती नाचिरहेका देखिन्छन् । पहाडी थुम्का अनि फाँट–तराईका खेतबारीमा बाली पालुवा स्वागतमा लहराइरहेका छन् । ती सबैले गरेको यो स्वागत तयारी आजकै लागि हो, ‘नयाँ वर्ष २०८० ।’ घरभित्र पसिसकेको नयाँ वर्षको स्वागतमा स्वच्छन्द मन र तनसाथ हामी पनि सहभागी बनौंँ । आज उत्साह र आशासाथ नयाँ सङ्कल्प र लक्ष्य तय गर्ने दिन हो, ‘सामाजिक न्याय, स्वदेशभक्ति, पर्यावरणप्रति संवेदनशील रहँदै राष्ट्रिय उत्थानमा सहभागी हुने दृढ प्रतिबद्धता ।’
अनवरत छ समय । करिब १३ करोड वर्षअघि बनेको यो भूमिमा करिब एक करोड वर्ष अगाडि नै मानव अस्तित्व भएको प्रमाण विश्वास गरिन्छ । करिब तीन हजार वर्षअघि नेपाल राज्यको निर्माण भएको इतिहासकारको ठम्याइ छ । यत्रो कालखण्डमा स्थापित हाम्रो सभ्यता, संस्कार–संस्कृति–परम्परा अनुभव अपराजित छ । हाम्रो वैयक्तिक–सामाजिक जीवन व्यवस्थित गर्ने प्रबन्धहरू छन् । त्यस्तै प्रबन्धको मूल आधारमध्येको एक हो, ‘पात्रो ।’ हाम्रा पात्रोहरू हामीजस्तै भिन्न छन् तर हामी सबैले अर्थात् राष्ट्रिय रूपमा अङ्गीकार गरिएको पात्रो हिन्दु पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको विक्रम संवत्को हो । यो पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ ।
वसन्त ऋतुको यो समय ......
पृथिवी छन् सुगा – रङ्गी पिपिराहरूले गरी ।
हरियो रेशमा सारी लायेकी प्रमदा सरी ।।
कवि लेखनाथ पौड्यालले ‘वसन्त विचार’ मा भनेझैँ जसरी अहिले चैत वैशाखको धूपमा पनि वनस्पतिका प्रेमिल पिपिराहरू धर्ती चिर्दै पन्पनिएका छन्, त्यसरी नै हाम्रो जीवन पनि पन्पनिँदैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गरिदिएको मुलुकको अर्थतन्त्रको सकारात्मकतातिर लम्कँदो अवस्थाले त्यही सङ्केत गर्छ । पेट भोको नराख्न चाहिने न्यूनतम आर्थिक स्रोतको अभाव नभए पनि पुग्थ्यो भन्नेदेखि कुन उपायले धनसम्पत्ति लुकाउँ भन्नेसम्म छौँ हामी । यी दुईबीचको हैसियतमा समान ढङ्गले स्थापित हुने लोककल्याणकारी राज्यको परिकल्पना गरी अगाडि बढ्ने लक्ष्यमा छ यो मुलुक । समकालीन नेतृत्वले बनाएको संविधानबमोजिम मुलुक डोरिएको पनि झन्डै एक दशक हुन लाग्यो । आठ वर्षअघि २०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी भयो । वंश परम्पराको अन्त्य भयो । जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था लागू भयो । मुलुक सङ्घीयतामा गयो । राज्यका सबै निकायमा समानुपातिक समावेशिता सिद्धान्त लागू गरियो । दलहरूको घोषणा थियो, ‘‘मुलुकमा स्थायित्व हुन्छ, विकास र निर्माणका माध्यमबाट देशले काँचुली फेर्छ ।’’ तर एक दशकमा जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वादको भेउ पाउन सकेका छैनन् । राजनीतिक परिवर्तन भयो, स्थायित्व र विकास भएन भन्ने गुनासो आमनागरिकको छ र यसमा नयाँ वर्षमा गम्भीरता वाञ्छित छ ।
बितेको दशकमै संविधान, महाभूकम्पको सामना र मुलुकको वास्तविक नक्सा जारी गरियो । कोभिड महामारीको सामना गरियो, गरिँदै छ । राजनीतिक क्षेत्रमा सहमति र स्पर्धा अनि सहमतिको चक्र स्वाभाविक रूपमा चलिरहेको छ । यही चक्रको चेपमा संवैधानिक अङ्ग र प्रशासनिक क्षेत्र नपरोस् भन्ने आमचिन्ता छ । जनताले आफ्ना गुनासा र आक्रोश राष्ट्रप्रमुख तथा कार्यकारीप्रति खुला रूपमा व्यक्त गर्न पाएको स्वतन्त्रता यही दशकले अनुभव ग¥यो तर ललितानिवास काण्ड, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मवारी पाएका पदाधिकारीको नै भ्रष्टाचारमा संलग्नताजस्ता घटनाले हाम्रो चिन्तन, आचरण र कर्ममा शुद्धीकरणको खाँचो देखाएका छन् ।
हो, आज तमाम विगतका विवेचना गरी तनमन शुद्धीकरण गरी कर्ममा सङ्कल्पकृत हुने दिन हो । खासगरी हर क्षेत्रको नेतृत्व पङ्क्तिले निरन्तर आत्मशुद्धीकरण, निरन्तर दीक्षा, अटुट जोश अनि वचन र कर्ममा विवेकशील भई जिम्मेवारी बहन गर्दा सभ्यता सगरमाथाको उचाइझैँ बढ्नेछ । यही विश्वासमा हामी भन्छौँ – सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया : । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जन ।