तीन महिनाअघि भदौ २३ र २४ गते नेपालमा भएको दुईदिने युवापुस्ता (जेनजी) को आन्दोलनले वैधता पाएको छ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे ऐतिहासिक सम्झौतासँगै नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियानका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । मुलुकको रूपान्तरणका लागि यो सम्झौता इतिहासको एउटा कोसेढुङ्गा साबित हुने छ । यो परिवर्तनलाई सम्झौताले निर्देशित गर्दै नेपाल जेनजी आन्दोलनको गुरुराष्ट्र बनेको छ । देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक, सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन भएन । त्यसैबाट उत्पन्न आमवितृष्णा र निराशाले जेनजीको नेतृत्वमा भदौ २३ र २४ गते भएको राजनीतिक, सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गरिएको छ । सम्झौतापत्रमा सहिद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण गरिने र आन्दोलनका क्रममा तत्कालीन सरकारको दमन र व्यापक हिंसाका घटनामा सहादत प्राप्त गरेका व्यक्तिलाई सहिद घोषणा गर्ने, सहिद परिवारको माग र भावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिने छ । त्यस्तै सहिद परिवार र घाइतेको माग अनुरूप सदाचार तथा सुशासन प्रवर्धन, भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्य गर्न स्थायी प्रकृतिको आयोग गठन हुने छ । सम्झौता अनुसार उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरणको परिपूरणीय व्यवस्था सुनिश्चित गरिने छ ।
भदौ २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार गरिने छ । उक्त घटना सम्बन्धमा बनेको जाँचबुझ आयोगलाई गैरन्यायिक हत्या, मानव अधिकार उल्लङ्घनसम्बन्धी आरोपको बिनाविभेद छानबिन गरी सत्यतथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गरिने छ । जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राख्ने तथा जेनजी आन्दोलनका क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यको भेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई कार्यादेश दिइने छ । अन्यायपूर्ण तथा गैरकानुनी बल प्रयोगसम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरी भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्न संस्थागत सुधारका उपायको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र त्यसको सिफारिस कार्यान्वयन गरिने छ । राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य गरिने छ । सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताको नाममा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, टस्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्यविपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकाय खारेज गरी सम्पत्ति राष्ट्रियकरण गरिने छ ।
हरेक तहका निर्वाचन स्वतन्त्र बनाउन प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने छ । उम्मेदवारले मनोनयन दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र खर्च पारदर्शी बनाउन कानुन संशोधन गरिने, दलको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीलाई कारबाही गर्न कानुनी प्रबन्ध गरिने छ । सुशासन र संविधानको प्रभावकारी कार्यान्वयन गर्न उच्चस्तरीय ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिने छ । यो आयोगले संविधान कार्यान्वयनका १० वर्षको सिंहावलोकन गर्ने छ । राष्ट्रप्रमुख, तिनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रीपरिषद्का सदस्यको कार्यकाल १० वर्षमा नबढ्ने गरी दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष राखिने छ । पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व गर्ने र सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न सम्झौताबमोजिम जेनजी परिषद् गठन गरिने छ । सरकार जेनजीबिच भएको यो सम्झौतापत्र राजपत्रमा प्रकाशित गरिने छ । मुलुकको आजको वास्तविकतालाई आत्मसात् गरेको यो सम्झौता राष्ट्रको सम्पत्ति हो । यसलाई सबै राजनीतिक दल तथा सरोकारवालाले स्वीकार गर्दै नयाँ परिवेश अनुसार आफ्ना विगत र वर्तमानका कमीकमजोरी सुधार गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा सँगसँगै हातेमालो गर्नु पर्छ । भ्रष्टाचार र अपराधमुक्त सुसंस्कृति, समृद्धि र शान्त राष्ट्र निर्माण गर्न सकेको खण्डमा सहिदको सपना साकार हुने छ ।