काठमाडौं, चैत ३० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको छ ।
बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाेहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको हो ।
उहाँले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताउनु भयो । उहाँले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताउनु भयो । मन्त्री शर्माले महानगरपालिकाको प्रमुखले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताउनु भयो ।
उहाँले संघीय सरकारले सहजीकरण गरेर टुङ्ग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका प्रमुखले संविधान, कानून र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने भनाइ राख्नुभयो ।
सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘स्थानीय तह पनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ । हाम्रो कैयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन् । त्यो कुरा बेठीक पनि लाग्न सक्छन् तर या त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ ।’’
मन्त्री शर्माले भन्नुभयो, ‘‘हामी जनप्रतिनिधि मान्छेले कानून, संविधान मान्दैनौँ भन्यौँ भने हुन्छ के ? यसले के खालको सन्देश जान्छ र समाजमा के प्रभाव पार्छ ? कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुरा त सकारात्मक सन्देश त प्रवाह गर्दैन । संविधानको अनुसूची–८ मा एकल अधिकार क्षेत्र भित्रमा फोहोरमैला व्यवस्थापनको कुरा स्थानीय तहको हुनेछ भन्ने कुरा स्पष्ट छ ।’’
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हेर्याै भने त्यहाँ बुँदागत रुपमा के–के गर्ने स्थानीय सरकारले भनेर त्यो कुरा लेखिएको छ तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पूर्तिका निमित्त र अर्को कुनै कामलाई सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु हुन्न । किनभने यो गर्मीको समय, आम जनताको स्वास्थ्यसँग जोडिएको विषय, यो धेरै संवेदनशील विषय हो । त्यसकारण जिम्मेवार पदाधिकारीले यस्तो विषय बोल्नु, यस्ताखालका कदम चाल्नु भनेको कुरा राम्रो होइन । यसले राम्रो सन्देश दिँदैन । यसले जनस्वास्थ्य माथिको खेलबाड पनि ठहर्छ ।
‘‘संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा त छलफल गर्नुपर्यो । उहाँले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन । त्यो गर्न हुँदैन । काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नु भएन, कानून बुझ्नु भएन, सरकार सञ्चालन ऐन बुझ्नु भएन भन्न हामी सक्दैनौँ । त्यो उहाँले बुझ्नु भएको छ । बुझ्नुपर्छ र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो ।’’ सञ्चारमन्त्री शर्माले भन्नुभयो ।
गठबन्धनका बीचमा कुनै समस्या छैन
मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताउनु भयो ।
उहाँले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरु र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सत्तारुढ गठन्धनका दलहरुसहितका अन्य दलहरुसँग समेत देशको अर्थतन्त्र सुधारलगायतका विषयहरुमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सांसदले संसदमा सरकारप्रति खबरदारी गर्ने कुरा, काम प्रभावकारी होस् भन्ने कुरा सत्तारुढ होस्, चाहे प्रतिपक्ष होस् त्यसलाई अन्यथा रुपमा लिनुहुन्न । त्यसलाई खबरदारीको रुपमा लिनुपर्छ भन्ने लाग्छ । जहाँसम्म बाहिर सरकारको तर्फबाट, गठबन्धन दलहरु बिचकै केही समस्या हो कि, संवादहीनता हो कि, अर्थात् केही हुन खोज्दैछ कि भन्ने जुन आशंका छ, त्यस्तो भएको छैन । अहिलेसम्म संवादहीनताको अवस्था पनि होइन । निरन्तर संवाद, छलफलमा हुनुहुन्छ ।’’
‘‘भर्खरै मात्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छौँ । जहाँसम्म सरकारको प्रभावकारिता जस्तो सोचेको हो त्यस्तो भएन भन्ने हामी सबैलाई लागेकै विषय हो । यसको पछाडि राजनीतिक कारण छन् । गठबन्धन बन्ने, भत्किने, सरकारले पूर्णता पाउन लामो समय लाग्ने कारणले जस्तो सोचेको हो त्यस्तो हुन नसकेको हो । सरकारले गतिमै काम गरेको छ । कतिपय जनपक्षीय, सेवा प्रवाहका कामहरुलाई, नीतिगत, कानूनी कुराहरुलाई, बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर संसद, सरकार सबैतिर कानून निर्माण, अर्थतन्त्र सुधारलगायतका थुप्रै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन् ।’’ मन्त्री शर्माले भन्नुभयो ।