• १३ साउन २०८१, आइतबार

कान्छी प्राध्यापकको निधन : सहयोग सङ्कलन रोकिदिन परिवारको आग्रह

blog

त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेल

गोरखापत्र समाचारदाता

काठमाडौं, चैत ३० गते । त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागका प्राध्यापक डा. उर्मिला प्याकुरेलको ४२ वर्षको उमेरमा निधन भएको छ । सात वर्षदेखि क्यान्सरको उपचार गराइरहनु भएकी उहाँको बुधबार राति नर्भिक अस्पतालमा निधन भएको उहाँका भाइ राजेन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।


दिवङ्गत प्याकुरेलको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । स्व. प्याकुरेल त्रिभुवन विश्वविद्यालयकै गणित विषयकी कान्छी प्राध्यापक हुनुहुन्थ्यो । उहाँले क्यान्सर लागेकै बेला त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो भने ४१ वर्षको उमेरमै प्राध्यापक पदमा बढुवा हुनुभएको थियो ।


व्यावहारिक गणितमा अनुसन्धानमा रुचि राख्ने उहाँ अनुसन्धानकै क्रममा जर्मनीको अलेक्जेन्डर बोन हम्बोल्ट फाउन्डेसनमा फेलोसिपमा हुनुहुन्थ्यो । उहाँको अनुसन्धान नेपालको ट्राफिक जामको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।


स्वर्गीय प्याकुरेलको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदैँ ।

उहाँका भाइ राजेन्द्र प्याकुरेलले भन्नुभयो, “उहाँको उपचार सहयोग सङ्कलनका लागि थालिएको अभियान अन्त्य भएको ब्यहोरा परिवारका तर्फबाट सबैमा जानकारी गराउँछौँ । यहाँहरूले गर्नुभएको माया, सद्भाव र सहयोगप्रति आभारी छौँ । यहाँहरूले गर्नुभएको सहयोग तर उपचारमा प्रयोग हुन नपाएको सङ्कलित स्रोतलाई उहाँकै स्मृतिमा यहाँहरूसँगको परामर्शमा उपयोग गरिने ब्यहोरा अवगत गराउँछौँ ।”


उहाँको उपचारमा संलग्न चिकित्सक डा= राजेन्द्र बरालले उपचारका सबै प्रयास गर्दागर्दै पनि सम्भव नभएको भन्दै प्रा.डा. प्याकुरेलको निधन देशका लागि अपूरणीय क्षति रहेको बताउनु भयो ।