काठमाडौँ, चैत ३० गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित परिवारलाई समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृहमन्त्री श्रेष्ठबीच बुधबार गृह मन्त्रालयमा भएको वार्ताक्रममा उहाँले पीडितलाई ढुक्क हुन आग्रह गर्नुभएको हो। वार्ता पुनः बिहीबार बैठक बस्ने गरी टुङ्गिएको छ।
वार्ताबारे गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “यो निकृष्ट सामन्ती अवशेष हो। यसको हामी हरहालतमा अन्त्य गर्छौं। राज्यमार्फत, कानुनमार्फत नै यसको अन्त्य गर्ने हो।”
मिटरब्याज पीडितलाई घर फर्कन आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “एउटा सहमति गरौँ, जिल्ला गएर छिटोभन्दा छिटो समस्या पहिचान गर्नुस्। आयोगको काममा गति बढाउन मद्दत गर्नुस्। जहाँ समस्या छ, त्यहाँ गएर समाधान गरिन्छ, ढुक्क हुनुहोस्।”
गृहसचिव विनोदप्रकाश सिंहले मिटरब्याज समस्याबारे ३६ जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट जानकारी लिइएको बताउनुभयो। सङ्घर्ष समितिले मूल समस्या लिखितम् र तमसुक भएको जनाउँदै तमसुक बदर गर्दा मात्रै समस्या समाधान हुने सम्भावना रहेको समितिका संयोजक अवधेश कुशवाहले बताउनुभयो।