• १३ साउन २०८१, आइतबार

विनाकुमारीलाई एक लाखको सर्वोत्कृष्ट उद्यमी पुरस्कार

blog

सर्वोत्कृष्ट उद्यमीलाई सम्मानित गर्नुहुँदै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणलगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत २९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ । नगरपालिकामा जारी नगर प्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमी घोषणा गरिएको हो । 

नगरका उत्कृष्ट १० जना उद्यमीबाट एक जनालाई सर्वोत्कृष्ट उद्यमी घोषणा गरी नगद १ लाख पुरस्कार  प्रदान गरिएको हो । दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा ११ भूपू सैनिक टोलमा रहेका विशाल पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक बिनाकुमारी पुनः उत्कृष्ट उद्यमी घोषणा हुनुभएको हो ।

सर्वोत्कृष्ट उद्यमी पुनलाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरदेवी चौधरी, दायित्वका अध्यक्ष डा. पुकार मल्ल तथा प्रदेश संयोजक कमल थापालगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।

उद्यमी महिलालाई सम्मान गर्दै नगरप्रमुख खाणले महिलाको इलम, सीप र उद्यमलाई नेतृत्व विकाससँगै उद्यमशीलता तथा आर्थिकको पार्जनका लागि महत्त्वपूर्ण दायित्वले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । १० जना उत्कृष्ट उद्यमीबाट उहाँले दिएको प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत निर्णयले नम्बर प्रदान गरी उत्कृष्ट उद्यमीको रूपमा पुरस्कार प्रदान गरिएको लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिनुभयो । 

पुनले वि.सं. २०७८ देखि ब्रोइलर कुखुरा, च्याउ खेती, बंगुरपालनलाई व्यवसायीकरण गर्नुभएको छ । एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा खाली छोड्नुभन्दा त्यसलाई सफा गरेर फेरि च्याउखेती गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘मैले एक सिजनमा कुल ४ लाख ६५ हजार रुपियाँ लागतमा च्याउ खेती गरेँ त्यसबाट १२ लाख रुपियाँ आम्दानी गरेँ ।’ सहभागी उद्यमीमध्ये उत्कृष्ट १ जनालाई १ लाख, दोस्रोलाई ३५ हजार र उत्कृष्ट १० जनामा परेका उद्यमीलाई १०–१० हजार नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको हो ।

सो छनोट चरणको फाइनल कार्यक्रममा निर्णायकको रूपमा नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, एम्स कलेज बुटवलका क्याम्पस प्रमुख दीपक ढकाल, कृषि विकास बैङ्क भैरहवा शाखा वरिष्ठ शाखा प्रबन्धक सीमा वनलगायतले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । 

उत्कृष्ट १० मा छनौटमा परेका उद्यमीहरू यमकुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहितसिंह आले, चन्दा घिमिरे, भगवती बस्याल, बलराम काफ्ले, राधेश्याम लोधले आफूले गर्दैआएको उद्यमको विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

नयाँ उद्यमी घोषणाका लागि विगत ९ महिनादेखि दायित्वले विभिन्न कार्यक्रम, तालिम, गोष्ठी, उत्प्रेरणाका काम गर्दैआएको दायित्वको सिनियर प्रोग्राम म्यानेजर सञ्जय पोखरेलले बताउनुभयो ।