• १३ साउन २०८१, आइतबार

बियर कम्पनीका गोदाम अझै खुलेनन्

blog

काठमाडौँ, चैत २९ गते । झन्डै दुई महिनादेखि सिलबन्दी गरिएका म्याद गुज्रेका बियर कम्पनीका गोदाम अहिलेसम्म खुुल्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त बियर कम्पनीको अनुसन्धान गरिरहेकै बेलामा विभागका महानिर्देशक महेश भट्टराईको सरुवा भएका कारण रोकिएका गोदाम अहिलेसम्म खुुल्न नसकेका हुन् । 

विभागको अनुगमन टोलीले विभिन्न सात ब्रान्डका बियर कम्पनीका गोदामको अनुगमनका क्रममा म्याद गुज्रेका बियर भेटिएपछि गोदाममा सिलबन्दी गरिएको थियो । विभागका निर्देशक होमनाथ भट्टराईले विभागमा मङ्गलबार नयाँ महानिर्देशकका रूपमा गजेन्द्रकुमार ठाकुर आउनु भएकाले सिलबन्दी भएका बियर नष्ट गरी कम्पनीलाई कानुनअनुसार जरिबाना र कारबाही गरेर सिलबन्दी फुकुवा हुने जानकारी दिनुभयो । विभागले गोदाममा तीन हजार ६० कार्टुन म्याद सकिएका करिब ८३ लाख बराबरका बियर बरामद गरी सिलबन्दी गरेको जनाएको छ ।

विभागका निर्देशक भट्टराईका अनुसार अनुगमनका क्रममा म्याद सकिएका टुबोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा र बाह्रसिंगे ब्रान्डका बियर राखिएका गोदामहरूमा सिलबन्दी गरिएको थियो । बियरका हरेक गोदाममा अनुगमन गर्दा उपभोग्य म्याद सकिएका बियरका कार्टुन भेटिएका थिए । 

विशेषगरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेय पदार्थको कारोबार भएको भन्ने गोप्य उजुरीका आधारमा विभिन्न ब्रान्डका बियरका गोदामको अनुगमन गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुभयो । 

विभागका निर्देशक भट्टराईले बरामद गरिएका बियर अनुसन्धान सकिएपछि मात्रै नष्ट गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भनेका कुरालाई मात्रै आधार मान्दैनौँ, त्यस्ता सम्भावित भोजभतेर हुने ठाउँको पनि आकास्मिक अनुगमन गर्छौं, त्यस्तो फेला परेको खण्डमा कानुनअनुसार कारबाही हुन्छ ।”

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोग्य मिति सकिएका वस्तुको बिक्री तथा भण्डार गरेको पाइएमा निजलाई विभागको महानिर्देशकको रोहबरमा तीन लाख रुपियाँ जरिबानासहित मुद्दा चलाउन सक्ने व्यवस्था छ । विभागले यसअघि पनि म्याद  गुज्रेको   सामानमा रिलेवलिङ गर्ने लगभग एक दर्जन कम्पनीविरुद्धमा कानुनअनुसार विभागको महानिर्देशक रोहबरमा मुद्दा चलाइएको छ ।