• १३ साउन २०८१, आइतबार

महासङ्घको निर्वाचन आज

blog

काठमाडौँ, चैत २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्षबाहेक बाँकी सबै पदका लागि बुधबार निर्वाचन हुँदै छ । महासङ्घको विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै हुनुहुन्छ । यसबाहेक बाँकी पदमा निर्वाचन हुन लागेको हो । 

भविष्यको अध्यक्षसमेत हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा त्रिपक्षीय उम्मेदवारी परेको छ । त्यसका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सङ्घाईले उम्मेदवारी दिनुभएको छ । तीनै जनाले आफ्नो समूह बनाएर निर्वाचनमा उम्मेदवारी दिनुभएको हो । 

महासङ्घको निर्वाचनमा जिल्ला, वस्तुगत र एसोसिएट गरेर तीनवटा अध्यक्ष रहने व्यवस्था छ । त्यसका लागि हालसम्म आठ जनाले उम्मेदवारी दिनुभएको छ । 

उत्कृष्ट करदातालाई सम्मान

महासङ्घले साधारण सभाको अवसरमा आफ्ना सदस्यमध्येबाट सबैभन्दा धेरै कर तिर्नेलाई सम्मान गरेको छ । जसमध्ये निर्यात कारोबारमा सबैभन्दा बढी आयकर तिर्ने शिवशक्ति घ्यू उद्योग, बैङ्क तथा वित्तीय संस्थामा नबिल बैङ्क, पर्यटन सेवामा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलास चन्द एन्ड कम्पनी रहेका छन् ।

मध्यमस्तर करदाताबाट नेपाल स्टक लिमिटेड, रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड, शिक्षा सेवामा नोबेल मेडिकल, विशेष उद्योगतर्फ राजेश मेटल, सबैभन्दा बढी अन्तःशुल्क तिर्नेमा सूर्य नेपाल र सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा गोर्खा बु्रअरीले सम्मान पाएका छन् ।