• १३ साउन २०८१, आइतबार

सबै दलसँग सहमति गरेर सरकारले विधेयक अगाडि बढाउँछ : प्रधानमन्त्री प्रचण्ड

blog

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा सहभागी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत माओवादी सांसद । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलसँग सहमति गरेर मात्रै सरकारले विधेयक अघि बढाउने बताउनुभएको छ। 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सबै विधेयक प्रमुख प्रतिपक्ष एमालेसहितका दलको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिनुभएको हो। 

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले विधेयक अघि बढाउँदा सकेसम्म सबै दलसँग सहमति  गर्ने र त्यसो हुन नसके पनि प्रक्रियामा सहमति गरेर अघि बढ्न पार्टीका सांसदलाई सचेत गराउनुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले संसदमा प्रस्तुत विधेयकको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पार्टीका सांसदलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षसहितका सबै दलको सहमतिमा विधेयक अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदलाई निर्देशित गर्नुभएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। 



प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भन्नुभयो, ‘‘सम्माननीय प्रधानमन्त्रीले हामीलाई निर्देशित गर्नुभएको छ। त्यो निर्देशन के छ भन्दा हामी सत्तापक्ष भएको कारणले विधेयक बनाउँदा, विधेयक अगाडि बढ्दा प्रमुख प्रतिपक्षलगायत सबैसँग सहमतिका साथ अगाडि बढ्नुपर्छ। सहमतिमै हामीले प्रयत्न गर्नुपर्छ। यदि कन्टेन्टमा सहमति हुननसके पनि हामी प्रक्रियामा भने सहमति गरेरै अघि जानुपर्ने हुन्छ। यो अहिलेको राष्ट्रको आवश्यक्ता हो।’’ 

प्रधानमन्त्री प्रचण्डले माओवादी सांसदलाई सत्तापक्षको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि निर्देशित गर्नु भएको छ। आगामी वर्षको नीति, योजना, कार्यक्रम, बजेटको विषयमासमेत प्रधानमन्त्रीले धारणा राख्नुभएको छ। 

प्रधानमन्त्रीले सरकारको साझा न्यूनतम कार्यक्रम अनुसार अगाडि बढ्न निर्देशन दिनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदलाई सचेत गराउनु भएको हो।