• २७ वैशाख २०८२, शनिबार

परिणाममुखी काम गर्न सरकारलाई महामन्त्री थापाको सुझाव

blog

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, चैत २८ गते । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्‍याउनुभयो ।

मङ्गलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं सङ्घीय महाधिवेशनमा बोल्नुहुँदै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नुभयो । उहाँले पाँच वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो ।

‘‘पाँच वर्षको अवधि छ। मैले भनिरहेको छु– म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार, चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्व प्रधानमन्त्रीले भनेर गइसक्नु भएको छ । त्यो ठीक, बेठिक छाेडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अब कसैलाई दोष दिन पाइदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘भूतपूर्व राजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ । अबको पाँच वर्षपछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । पाँच वर्ष देशको सरकार कसले चलाउने ? कांग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अब कसैलाई दोष पन्छाएर पाइन्न । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’’

महामन्त्री थापाले शिक्षकको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो । शिक्षकलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले भन्नुभयो,  ‘‘अबको तीन/चार महिना भित्र सङ्घीय शिक्षा ऐन पारित गर्नु पर्नेछ । ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने ? यो ऐनले समस्या समाधान गर्नु पर्‍यो । अब स्कुल मर्जर गरेर नगई हुँदैन । ठूल्ठूला विद्यालय चाहिन्छ । फण्डिङ त्यही अनुसारको चाहिन्छ । शिक्षकलाई खुशी बनाउने गरी उनीहरुको तलब, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ । अनि मात्रै शिक्षकको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ ।’’

महामन्त्री थापाले सङ्घीय शिक्षा ऐन चार महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकलाई आग्रह गर्नुभयो ।