• १३ साउन २०८१, आइतबार

एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण

blog

एसइई दिएका छात्रालाई वितरण गरिएका साइकल । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, चैत २८ गते ।
 रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ । कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी सापकोटाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिका भित्रका सामुदायिक विद्यालयका २०३ जना छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।

कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले एसइईपछिको अध्ययनलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो । प्रत्येक घरको छोरीलाई विद्यालय र उच्च शिक्षाको पहुँचमा ल्याउन उक्त योजना लागू गरिएको अध्यक्ष त्रिपाठीको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले कक्षा १० सम्म अध्ययन गर्न आफ्नै वडाभित्र रहेको विद्यालयमा पुग्न सहज थियो तर कक्षा ११ देखिको माथिको पढाई अन्य वडामा जानुपर्ने भएकाले साइकलको अभावले कोही शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले एसइई परीक्षामा सहभागी भएका छात्राहरूलाई साइकल वितरण गरेका छौँ ।” छोरीलाई प्रोत्साहन गर्न यस्तै छोरी जन्म प्रोत्साहन, छोरी विवाह प्रोत्साहनलगायत विभिन्न योजना ल्याइ अघि बढेको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशीला कुमारी यादवले हरेक घरको छोरीले समाज र आफ्नो भविष्यका लागि उच्च शिक्षा हासिल गरी शिक्षित बन्न गाउँपालिकाले विभिन्न योजनाहरू ल्याइरहेको बताउनुभयो । गाउँपालिकाभित्र रहेका हरेक छोरीलाई उच्च शिक्षा प्रदानको लागि गाउँपालिकाले विभिन्न योजना ल्याएको र त्यसमा अभिभावकको सहकार्य रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बिहानी कक्षा सञ्चालन भएको क्याम्पसमा छात्राहरूलाई समयमै पुग्नका लागि साइकलले धेरै सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सवारीसाधनको अभावले विद्यालय जान बाधा नहोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको श्रीवास्तवले बताउनुभयो ।

कोटहीमाई गाउँपालिकाभित्र रहेका श्री लालबिहारी माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, मर्यादापुर माध्यमिक विद्यालय, तुनिहवा माध्यमिक विद्यालय, मर्चावार आदर्श माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय र बोगडी माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरिएको कोटहीमाई गाउँपालिका शिक्षा शाखाका प्रशासन सहायक मनोहर चौधरीले बताउनुभयो । यी सामुदायिक विद्यालयमा कक्षा १० मा भर्ना भएका २३२ जनामध्ये एसइई परीक्षामा सहभागी २०३ जना छात्रालाई साइकल वितरण गरिएको चौधरीले जानकारी दिनुभयो ।