• २२ वैशाख २०८२, सोमबार

महावीर जन्मजयन्तीका अवसरमा राष्ट्रपतिको शुभकामना

blog

काठमाडौँ, चैत २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बीप्रति सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। 

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ। 

राष्ट्रपति पौडेलले सोमबार दिनुभएको सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको उल्लेख गर्नुभएको छ।