• १३ साउन २०८१, आइतबार

सहकारीमार्फत सुपथ पसल सञ्चालन

blog

काठमाडौँ, चैत १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारी संस्थामार्फत सुपथ पसल सञ्चालन गरेको छ । कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, रोल्पामा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा सुर्खेतको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरेको छ । 

कम्पनीको कार्यालय र डिपो नभएका स्थानमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले सहकारी संस्थालाई ७ प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराएर वितरण सुरु गरिएको जानकारी दिनुभयो । कम्पनीबाट सहकारी संस्थाले दाल, चामल, तेल, गेडागुडी खरिद गरेर बिक्री सुरु गरेका छन् । 

पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरिएको र त्यसपछि क्रमिक रूपमा अन्य जिल्लामा पनि विस्तार गरिँदै जाने कम्पनीले जनाएको छ । कम्पनीले दुर्गमका २४ जिल्लासँगै सुगम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । विश्व खाद्य कार्यक्रमले सहकारी संस्थाका कर्मचारीलाई प्राविधक ज्ञान, तालिम दिने गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयसहित सात प्रदेशमा प्रादेशिक कार्यालय, शाखा कार्यालय २५ र २५ वटा डिपो कार्यालय रहेका छन् । डिपो कार्यालयमा कर्मचारी नहुँदा बन्द रहेका छन् । कर्मचारी अभावले डिपो कार्यालय बन्द हुँदा खाद्यान्न ढुवानी गर्न नसकिएको कम्पनीले जनाएको छ । 

यसैबीच कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैत १२ गतेसम्म सुगम तथा दुर्गम जिल्लामा एक लाख २१ हजार ५४६ क्विन्टल खाद्यान्न वितरण गरेको छ । दुर्गम जिल्लामा ६१ हजार ५६४ क्विन्टल र सुगम जिल्लामा ५९ हजार ९८२ क्विन्टल चामल वितरण भएको कम्पनीले जनाएको छ । कम्पनीसँग हाल दुई लाख चार हजार ४६२ क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीसँग ६२ हजार ३६१ क्विन्टल चामल र एक लाख ४२ हजार १०१ क्विन्टल धान मौज्दात छ । यसमध्ये २४ दुर्गम जिल्लामा १८ लाख ६६३ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जनाएको छ ।