• १३ साउन २०८१, आइतबार

अहिलेको निराशालाई आशामा बदल्छु : अर्थमन्त्री

blog

काठमाडौँ, चैत १८ गते । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक आत्मविश्वास जगाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । 

अर्थ मन्त्रालयमा शुक्रबार कार्यभार सम्हाल्दै उहाँले अहिलेको निराशालाई आशामा बदल्न सबै क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । “अहिलेको निराशालाई आशामा बदल्न मौद्रिक र वित्त नीतिको समन्वयको भूमिका आवश्यक रहन्छ,” उहाँले भन्नुभयो । 

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु नै सरकारको पहिलो प्राथमिकता हुने पनि उहाँले स्पष्ट पार्नुभयो । अर्थतन्त्रको स्तर सुधार्न मन्त्रालयले राष्ट्र बैङ्कसँग समन्वय गरेर अगाडि बढ्ने पनि अर्थमन्त्री महतले जानकारी दिनुभयो । लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, खर्च बढिरहेको, बैङ्क तथा वित्तीय संस्थामा तरलता अभावजस्ता समस्या विद्यमान रहेको अवस्थामा मन्त्रालय र केन्द्रीय बैङ्कबीच समन्वयकारी भूमिका हुनुपर्नेमा उहाँको जोड थियो । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत; उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत अन्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । 

उद्योग व्यापार क्षेत्रका समस्या समाधानमा केन्द्रित रहनेछु : उद्योगमन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार पद बहाली गर्नुभयो । पद बहालीपश्चात् मन्त्री रिजालले उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी काम गर्ने गोरखापत्रलाई बताउनुुभयो । उहाँले आर्थिक सङ्कटबाट गुज्रिएको औद्योगिक र व्यापारिक क्षेत्रलाई माथि उठाउने प्रयास गर्ने बताउनुुभयो । 

“हालको सङ्कट आफ्नो कार्यकालमा समाधान गर्ने गरी काम गर्नेछु । उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन हुुन सकेका छैनन्, व्यवसायीको मनोबल उच्च बनाउने र व्यवसायीका समस्या समाधान गरी आर्थिक समृद्धि हासिल गर्ने गरी अगाडि बढ्छुु,” उहाँले भन्नुुभयो । 

निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको औद्योगिकीकरण, व्यावसायिक वातावरण बनाउन र आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो प्रमुख भूमिका हुने उहाँले बताउनुभयो । 

विश्वको मञ्चमा तीव्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुने गरी पहल गर्ने पनि उहाँको भनाइ छ । आपूर्ति नीतिको मस्यौदा छलफलका लागि प्रदेशमा पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगारीमा जान सीप तथा तालिम अनिवार्य : श्रममन्त्री

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यापक सुुधार गर्नुुपर्ने आवश्यकता औँल्याउनुुभएको छ । शुुक्रबार पद बहाली गर्दै मन्त्री भण्डारीले भन्नुुभयो, “वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएर काठको बाकसमा फर्कने अवस्थाको सकेसम्म अन्त्य गर्नुुपर्छ, यसका लागि के गर्नुुपर्छ सबैले मिलेर गरौँ ।” 

उहाँले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रूपमा सीप तथा तालिम दिएर मात्रै विदेश पठाउने व्यवस्था गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताउनुुभयो । वैदेशिक रोजगारबाट आएको विप्रेषणलाई उत्पादनसँग जोड्ने गरी परिवारमा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउने उहाँको भनाइ छ ।