• १३ साउन २०८१, आइतबार

पर्यटन क्षेत्रलाई उठाउन आग्रह

blog

सन्तोष सुवेदी

कास्की, चैत १८ गते । सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँहरूले बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्ले विभिन्न माग र सुझावसहित पर्यटन क्षेत्रलाई उठाउन आग्रह गरेको हो । परिषद्ले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को प्रभावले पर्यटन व्यवसायमा परेको असर विकराल बन्दै गरेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा भुक्तानी तालिका अर्को असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्न माग गरेको छ । 

चालु आर्थिक वर्षमा सरकारले ल्याएका कार्यक्रम पुनर्कर्जा कोष, पुनर्तालिकीकरण र व्यवसायी निरन्तरता कोषजस्ता सुविधाको समयावधि न्यूनतम तीन वर्ष बनाउन र सुविधा नवीकरणसहित उक्त सुविधाबाट वञ्चित व्यवसायीलाई यस आर्थिक वर्षमै उपलब्ध गराउन परिषद्ले माग गरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैङ्क तथा वित्तीय संस्थाले व्यवसायीलाई आतङ्कित बनाएको र पलायनको बाटो रोज्नुपर्ने अवस्था आएको बताउनुभयो । पर्यटन क्षेत्रमा भएको लगानी र रोजगारीका अवसर जोगाउन चालु आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्थालाई परिमार्जन गर्दै थप कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको व्यवसायी जीवन रक्षा कर्जा र सङ्घीय सरकारको सहुलियत कर्जालाई निरन्तरता दिई अझ सजिलो र झन्झटमुक्त प्रक्रियाबाट ऋण प्रवाह र अतिरिक्त शुल्क मिनाहा गर्न परिषद्ले आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह गरिने कर्जाको निश्चित प्रतिशत ऋण सहुलियत ब्याजदरमा कृषिमा जस्तै पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्थित गरिनुपर्ने मागलाई व्यवस्था गरी पर्यटन उद्योगमा थप लगानी नगर्ने नीति तुरुन्त परिमार्जन गरी कम्तीमा १० प्रतिशतमा गाइडेड लोनको व्यवस्था हुनुपर्नेछ ।”