काठमाडौं, चैत १६ गते । नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चितवन–२ बाट जितनारायण श्रेष्ठ र तनहुँ–१ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुरा गर्नुहुँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुङ्ग्याउने निर्णय भएको बताउनुभयो ।
‘‘यो बैठकले चितवन निर्वाचन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । तनहुँ १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन २ मा पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।,’’ प्रवक्ता महतले भन्नुभयो, ‘‘बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुङ्ग्याउने निर्णय भएको छ ।’’
त्यस्तै, बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समाधान गर्ने कुरामा पनि छलफल भएको प्रवक्ता महतले बताउनुभयो । उहाँले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानका लागि तत्परता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मिटरब्याजीको समस्या जुन छ, त्यसबाट आहात नागरिकहरूको समस्या छ, त्यस समस्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । यसलाई कानुनी व्यवस्था सँगसँगै तत्काल समस्या समाधानका लागि सरकारले तत्परता देखाउनुपर्ने र समाधान गर्नुपर्ने विषयमा पार्टीले निर्णय गरेको छ । मन्त्रीपरिषद्मा भाग लिन विषयमा पनि चर्चा भएको छ । योगदान, दक्षता, समावेशिता प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्रिपरिषद्मा सदस्य पठाउने चर्चा छ ।’’
प्रवक्ता महतले मन्त्रीपरिषदमा भाग लिन विषयमा योगदान, दक्षता, समावेशिता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताउनुभयो ।