• ९ मंसिर २०८१, आइतबार

फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा १२ जनाको मृत्यु

blog

मनिला, चैत १६ गते । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

बुधबार राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन् ।

बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन् । पानीजहाजका यात्रीको नामसूचीमा २०५ जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् ।

बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले छ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पुर्‍याइएको छ ।

तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भिडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् । रासस/एएफपी