• ९ पुस २०८१, मङ्गलबार

कानुन नजान्दा हिंसामा वृद्धि

blog

बुलबुले समाचारदाता

सुर्खेत, चैत ८ गते । सुर्खेतको वराहताल गाउँपालिका–५ की ४१ वर्षीय देवीसरा गन्द्रमा मगरलाई कानुनको सामान्य जानकारी पनि छैन। परम्पराका नाममा विभेद तथा बहिष्करणबाट महिला पीडित भइरहेका छन्। बालविवाह, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, घरेलु हिंसा र दाइजोका कारण महिला पीडित हुने गरेका छन्। 

देवीसराका अनुसार कानुनी ज्ञानको अभाव र समाजको दबाबका कारण हिंसा सहेर बस्नु परिरहेको छ। महिला हिंसा, बालविवाह र बहुविवाहजस्ता घटना गाउँमै मिलाइन्छ। कानुनी प्रक्रियामा नगई गाउँका शिक्षित र अगुवा बसेर यस्ता घटना मिलाउने गरिएको छ। सोही वडाकी बिस्ना मर्साङ्गी मगरले गाउँमा महिलामाथि हुने विविधखाले हिंसाका घटनामा समाजका शिक्षित व्यक्ति बसेर दबाब दिई विषयलाई सामसुम बनाउने गरिएको बताउनुभयो।

दैलेखको महाबु गाउँपालिका–१ की ४० वर्षीया पार्वती खत्रीको अनुभवमा कानुनको सामान्य ज्ञानको अभावमा विभिन्न समस्या झेल्नु परेको छ। कानुनले दिएको अधिकारबारे जानकारी नहुँदा हिंसामा परेको अनुभूति उहाँलाई हुन थालेको छ।

गाउँघरमा बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बोक्सीको आरोपमा कुटपिटलगायत महिला हिंसाका घटना भइरहन्छन् तर यस्ता घटना कानुनी प्रक्रियामा नगई केही मानिस बसेर गाउँघरमै मिलाउने गरेको पार्वतीले बताउनुभयो। 

उहाँका अनुसार कतिलाई त आफूमाथि भएको हिंसाबारे थाहासमेत हुँदैन। कानुनी अज्ञानताका कारण उनीहरू चुपचाप हिंसा सहन बाध्य छन्। कानुनी प्रक्रियामा जाँदा समाजमा पुनस्र्थापित हुन नसकिने डरले उनीहरू हिंसा सहेर बस्छन्। कानुनी प्रक्रिया र न्यायिक निकायको पहुँचसमेत सहज नभएको खत्रीले बताउनुभयो।

महाबुकै ३७ वर्षीया भविसरा साउदले महिला हिंसाका घटना लुकाएर बस्न बाध्य भएको बताउनुभयो। कानुनी साक्षरता नहुँदा उजुरी गर्न कहाँ जाने र के गर्ने भन्ने समस्या महिलालाई रहेको उहाँको भनाइ छ। महिलामा कानुनी ज्ञानको कमी भएकाले हिंसाका धेरै घटना गाउँमै सामसुम पार्ने गरिएको अनुभव उहाँको छ।

अधिवक्ता इमान सुनारले मानव अधिकार हननका घटना बढ्दो क्रममा रहेको बताउनुभयो। बालविवाह, बहुविवाह, महिला हिंसा र दुव्र्यवहार गर्दा कस्ता कानुनी सजाय हुन्छन् भन्ने विषयमा जानकारी नहुँदा हिंसा सहेर बस्न महिला बाध्य भएको उहाँले बताउनुभयो। 

महिला आर्थिक रूपमा कमजोर हुँदा हिंसाको सिकार बन्ने गरेको महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले बताउनुभयो। उहाँले टोलटोलमा वडा सदस्य, आमा समूह, टोल विकास समितिमार्फत महिलामा कानुनी साक्षरता अभियान चलाउनुपर्नेमा जोड दिनुभयो। हिंसामा परेका महिलालाई समाजमा पुनस्र्थापित हुन समस्या हुने गरेकाले पनि महिलामाथि हुने हिंसालाई गाउँघरमै मिलाइने गरिएको उहाँले बताउनुभयो।

कानुनी ज्ञान अभावकै कारण मानव अधिकार उल्लङ्घनका घटना पनि बढेका छन्। कर्णालीमा विगत वर्षमा जस्तै सन् २०२२ मा पनि पारिवारिक बीभत्स घटनाको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ। यो वर्ष घरेलु हिंसाका घटनामा २११ जना पीडित भएका छन्। 

त्यसमध्ये घरेलु हिंसाका घटनामा १३२ जना, बोक्सी आरोपमा एक जना, बलात्कार घटनामा ३९ जना, बलात्कार प्रयासका घटनामा ११ जना, यौन दुव्र्यवहारको घटनामा आठ, बहुविवाह घटनामा २० जना पीडित भएको इन्सेकको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ। त्यसैगरी यो वर्ष कर्णालीमा परिवारजनबाट सात जना महिलाको हत्या भएको छ। गत वर्ष घरपरिवारबाट नौ महिलाको हत्या भएको थियो।