• १ जेठ २०८२, बिहिबार

अनियन्त्रित डढेलो बढ्यो जोखिम

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, फागुन ३० गते । जिल्लाको जङ्गली क्षेत्रमा लागेको डढेलोले वनमा ठूलो नोक्सान पु-याएको छ। हिउँद गएदेखि फाट्टफुट्ट रूपमा देखा परेका डढेलो अहिले राजमार्गको उत्तरतर्फ प्राकृतिक वन र दक्षिणको सागरनाथ वन विकासको जङ्गलसम्म फैलिएको छ। डढेलो नियन्त्रणमा आफूहरू दिनरात नभनी खटेको वन कर्मचारीको दाबी छ। फेरि पनि हरेक वर्ष समस्याको रूपमा देखा पर्ने डढेलोले चिन्ता थप्दै लगेको छ। 

अनियन्त्रित वन डढेलोले मानवीयदेखि जलवायु सन्तुलनमा समस्या खडा गरेको वातावरण अभियन्ता नागदेव यादवको भनाइ छ। डढेलोको जोखिममा गाउँ बस्तीमा पर्न थालेको छ। शनिबार रातिदेखि नेवार डाँडा र कामी डाँडा सामुदायिक वनमा लागेको डढेलोले बर्दिबास १ र ३ का बस्ती तथा सरकारी कार्यालयलाई जोखिममा पारेको छ। दन्कँदै गएको वन डढेलोले गौरीडाँडा–३, नमुना बस्तीका सुरेश बस्नेतको कुखुरा फार्म जलेको छ। पीडित बस्नेतका अनुसार फार्म जल्दा ५० हजारभन्दा बढीको धनमाल खरानी भएको छ। 

डढेलोले उत्तरको कारे भोगटदेखि गौरी डाँडासम्म बिछ्याइएका खानेपानीको पाइपमा क्षति पु-याएपछि जल आपूर्तिमा समस्या थपेको बर्दिबास खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ। डढेलो फैलिएर गौरी डाँडास्थित खानेपानी, विधि विज्ञान कार्यालय, सडक, सबडिभिजन वन कार्यालयसम्म पुगेपछि गाउँलेले रातभर सुत्न नसकेको बताएका छन्। 

गौरी डाँडामा सल्केको वन डढेलो अनियन्त्रित हुँदै बीपी राजमार्ग छेउका बस्तीसम्मलाई जोखिममा पारेपछि सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली, स्थानीय र बर्दिबास नगरपालिकाको वारुण यन्त्रले आइतबार झन्डै पाँच घण्टा लगाएर डढेलो नियन्त्रणमा लिने प्रयास गरेको थियो। 

डढेलो नियन्त्रणमा सहभागी होटल व्यवसायी विनोद थापाले जङ्गलै ढाक्ने गरी उठेको आगोको मुस्लोले बस्ती र वन सम्पदा खरानी पार्न थालेपछि आफूहरूले पनि साथ दिएको बताउनुभयो। फागुन मध्यदेखि फाट्टफुट्ट देखा परेको डढेलो अन्तसम्म पूर्व–पश्चिम राजमार्ग उत्तरका प्राकृतिक वन र दक्षिणका सागरनाथ वन विकास परियोजनाका जङ्गलसम्म फैलिएको छ। अघिल्लो दिनसम्म हराभरा वन जङ्गल अहिले कालै भएको छ। 

वनैभरि फैलिएको आगोका कारण जङ्गलका गहना मानिएका चित्तल, बँदेल, नीलगाई, चितुवाका डमरुजस्ता दुर्लभ वन्यजन्तु पलायन भएका छन्। डढेलोबाट ज्यान जोगाउँदै भागेका जङ्गली प्राणी सीमावर्ती गाउँदेखि भारतीय बस्तीसम्म भेटिन थालेका छन्। दुर्लभ प्रजातिका अजिङ्गर मासिने क्रममा छ।

पाते चिराइतो, कुरिलो, कुकुर डाइनो, वन लहसुन, सुनाखरी, मकै डुम्री, बाबियो, भोर्ला, सतिसाल, पाजन, सान्दन जस्ता बहुमूल्य प्रजातिका काठ र जडीबुटी पनि डढेलोकै कारण लोप भएको छ। आयुर्वेदले महाऔषधि मानेको वन अमला, हर्रो, बर्रोजस्ता प्रजाति मासिने क्रममा पुगेको छ। वनको आगो नियन्त्रण नभए बाँकी प्रजाति पनि इतिहास हुने स्थानीयको भनाइ छ। 

वनैभरि फैलिएको आगोले जैविक विविधतामाथि नै चुनौती थप्ने हुँदा पर्यावरणमाथि नै खतरा पु-याएको वातावरण अभियन्ता नागदेव यादवको भनाइ छ। उहाँका अनुसार डढेलोले हुर्कंदै गरेका कलिला बिरुवालाई मास्दै लगेकोले दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको बिचल्ली भएको छ। कतिपय प्रजातिका फल यहि बेला झर्छन् र वर्षा लागेपछि बिरुवा बनेर उम्रन्छन् तर बियाँका रूपमा झरेका फललाई पनि खरानी पार्ने हुँदा डढेलोले वन सम्पदाको चक्रिय र पारिस्थितिक प्रणालीमै असर पारेको यादवले बताउनुभयो। 

अवैध सिकारीले वन्यजन्तु मार्न सहज होस् भनेर नियतवश डढेलो लगाउने गर्छन्। आगोको डरले सुरक्षित स्थलतर्फ भागेका वन्यजन्तु सहजै सिकारीका निशानामा पर्छन्। वनमा पुगेका गोठाला, घाँसी, वन तस्कर, अल्लारे उमेरका केटाकेटीले सल्काएको आगो तथा उनीहरूले फ्याकेका चुरोट, बिडीका ठुटा पनि डढेलोको कारण हुने गरेको छ। 

लामो समयदेखि पानी नपरेकोले वन डढेलोमा वृद्धि भएको वन अधिकृत (डीएफओ) सन्तोष झाको भनाइ छ। उहाँका अनुसार स्रोत साधनको कमी, प्रतिकूल मौसम, बजेट कटौती, चेतना अभावजस्ता विविध कारणले यसपाली डढेलोको घटनामा अप्रत्याशित वृद्धि भएको हो। उहाँले सुरक्षा निकाय, वन समिति, स्थानीय उपभोक्ता समूह, अग्नि नियन्त्रण उपकरण, वारुण यन्त्रलगायतसँग समन्वय र सहकार्यपछि डढेलो कम भएको उहाँको दाबी छ। डढेलो लाग्न नदिन सुराकीको प्रयोग, नियमित वन गस्ती र साझेदारी वनसँग पनि नियन्त्रणबारे कुरा भएको डीएफओ झाले बताउनुभयो। उहाँले भन्नुभयो, “आवश्यक परे थप सहकार्य र सहयोग जुटाएर पनि वन जोगाउन पछि पर्दैनाैँ।”