• १३ साउन २०८१, आइतबार

बेचिएन अदुवा, सुठो बनाउँदै किसान

blog

अदुवाको सुठो बनाउँदै किसान ।

मीना कँडेल

कावासोती, फागुन २८ गते । पूर्वी नवलपरासीको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् । व्यावसायिक रुपमा अदुवा खेती गर्ने किसानहरु अदुवाको मूल्य नपाएपछि अदुवालाई पराम्परागत तरिकाबाट सुठो बनाएका हुन् । 

गाउँमा अदुवा बिक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिन्छ । अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन सुरु गरेको बौदिकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ । सुठो बनाउँदा एक, डेढ वर्षसम्म पनि नबिग्रिने भएकाले किसान त्यसतर्फ लागेका हुन् । 

अदुवा तथा बेसारखेतीका लागि बौदीकाली गाउँपालिका जिल्लाकै प्रसिद्ध मानिने उक्त पालिकामा प्रायः सबै किसानले अदुवा खेती गर्दै आएका छन् । पालिकाभित्र शित भण्डारसमेत नहुँदा खनेर राखिएका अदुवा जोगाउन गाह्राे भएको छ । 

काँचो तीन किलो अदुवाको सुठो बनाउँदा एक किलो मात्र बस्ने र बिक्री हुने सुनिश्चिततासमेत नहुँदा नोक्सानी व्यहोर्नुपर्ने सम्भावना पनि उत्तिकै छ । यस कारणले सरकारले अदुवाको मूल्य निर्धारण गरे आम किसानलाई राहत पुग्ने निरु रानाको भनाइ छ ।

बौदीकाली बासीको मुख्य आयस्रोत खेती अदुवा भएकाले प्राथमिकतामा राखी प्रशोधन केन्द्र बनाउन किसानहरुको माग छ । यसमा पालिका सकारात्मक भए पनि राष्ट्रिय प्रसारण लाइन नपुग्दा समस्या भएको नेत्र सारुको गुनासो छ । 

बौदीकालीसहित पहाडी भेग नरम, जौँबारी, अर्खला, कोटथर, रकुवा, आमडाँडाका किसानको मुख्य पेसा अदुवाखेती हो । यहाँ उत्पादित अदुवा मुण्डे, दलदले, भिमाद, रामपुरलगायतका व्यापारिक केन्द्रमा पु¥याउने गरिन्छ । त्यहाँबाट व्यापारीले अन्य बजारमा बिक्री गर्ने गर्छन् ।

करोडौं रुपियाँको अदुवा यस जिल्लाबाट निकासी हुने अग्रणी जिल्लाका रुपमा रहे पनि अदुवा र सुठोको मूल्यमा आउने थप घटका कारण किसानमा थप चिन्ता छाउनु स्वाभाविक रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।