• १३ साउन २०८१, आइतबार

तामाकोशी–काठमाडौँ प्रसारण लाइन : असारभित्र सक्न निर्देशन

blog

काठमाडौँ फागुन २६ गते । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । 

स्थानीयवासीको अवरोध, रुख कटानजस्ता समस्या रहे पनि समस्या समाधान गरी आयोजना समयभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीले तदारुकता नदेखाएको भन्दै प्राधिकरणले समयसीमासहित कारबाहीको चेतावनीसमेत दिएको छ । आयोजना निर्माणको स्थलगत अनुगमन गर्दै प्राधिकरण उच्च व्यवस्थापनले असारभित्र प्रसारण लाइन तयार नभए सो क्षेत्रका विद्युत् आयोजनाको खेर जाने विद्युतकाे क्षतिपूर्ति ठेकेदारबाटै असुल्ने चेतावनी दिएको हो । 

आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको हो । 

तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नातर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौँ र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । 

टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, समस्या तथा समाधानका उपायलगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गाधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजनक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । मध्य भोटेकोशीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले असारभित्र सबस्टेसन निर्माण नभएर मध्य भोटेकोशीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिनुभयो । “मध्य भोटेकोशीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ । सबस्टेसन निर्माण सम्पन्न भएन भने १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिनेछ,” घिसिङले भन्नुभयो । 

प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ तर त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्य भोटेकोशीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत््लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिनेछ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।