• १२ असार २०८१, बुधबार

छ सय एम्पुल लागुऔषधसहित दुई पक्राउ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २५ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई गिरफ्तार गरेको छ । छ सय एक एम्पुल लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ । 

म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोला घर भई पर्वतको जलजला गाउँपालिका –३, बस्ने २८ वर्षीया सोविता बागदास र बेनी नगरपालिका –९ घतान घर भई जलजला गाउँपालिका –३, बौर बस्ने ३२ वर्षीय प्रेम सार्कीलाई बेनी नगरपालिका –८ कालिपुलबाट लागुऔषधसहित गिरफ्तार गरेको हो । 

दुई जनाको साथबाट दुई सय थान डाइजेपाम, दुई सय एक थान फेनेरागन र दुई सय थान नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले बताउनुभयो । गिरफ्तार भएका दुवै जनालाई आगुऔषध मुद्दामा जिल्ला अदालत म्याग्दीबाट म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनाभित्र फागुन ११ गते जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देहीको सोमरीमाई गाउँपालिका घर भएका १९ वर्षीय मुस्ताफा खानलाई तीन सय ९३ थान नाईट्राभेट ट्याब्लेटसहित गिरफ्तार गरेको थियो । 

त्यस्तै, फागुन १६ गते भारतको बमनग्राम माल्दाहा पश्चिम बङ्गाल घर भई पोखरा बस्ने अलेमुन हकलाई लागुऔषध खैरो हिरोइन साढे ६ ग्रामसहित बेनी नगरपालिका –८ कालिपुलबाट गिरफ्तार गरेको जनाएको छ ।

यसैबीच पछिल्लो एक महिनाको अवधिमा प्रहरीले जिल्ला अदालत म्याग्दीबाट सजाय तोकेर पनि फरार रहेका २२ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले २२ जनालाई गिरफ्तार गरी २५ वर्ष एक महिना २३ दिन कैद भुक्तान एवम् १७ लाख ६६ हजार तीन सय ७५ रुपियाँ जरिवाना असुलउपर गर्न अदालतमा बुझाएको जनाएको छ ।