• ५ पुस २०८२, शनिबार

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

blog

मर्स्याङ्दीबेँसी आयोजना सञ्चालनको माग गर्दै जिल्ला प्रशासनमा स्थानीय । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, पुस ५ गते ।
५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको अति प्रभावित क्षेत्र बेँसीसहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत् आयोजनाको काम बेँसीसहरवासीको अवरोधका कारण निर्माण कार्य बन्द भएको छ । आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने मागसहित अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे र बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उक्त पत्रमा जलविद्युत् आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आयोजना निर्माण हुने विषयमा सहमति रहेको विषय उल्लेख गरिएको छ ।

‘‘मुलुकसँगै जिल्लाको आर्थिक र समृद्धिको आधार स्तम्भ जलविद्युत् आयोजना हो, यो अवरुद्ध हुनु गम्भीर विषय हो । जलविद्युत् कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दाको माग र मुद्दालाई सम्बोधन गरी आयोजना सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो विषयमा हामी सहमत छौं । आयोजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासन मार्फत तदारुकता जनाइदिन अनुरोध गर्दछौं ।’’ पत्रमा भनिएको छ ।

अतिप्रभावित क्षेत्रका इन्द्र घलेले आयोजना निर्वाध रूपमा सुचारु हुन दिन स्थानीय सबै एकमत रहेको बताउनुभयो । सोही क्षेत्रका बलबहादुर भण्डारीले भन्नुभयो, “मर्स्याङ्दी, ङादी, खुदीमा बनेका आयोजनाका ट्रान्समिसन लाइन हाम्रो गाउँ हुँदै आउँदा हामीले विरोध गरेनौं । हामी पीडित भएरपनि विकासलाई अवरोध गरेनौं । तर, अहिले हाम्रो ठाउँमा जलविद्युत् निर्माण भएर गाउँको विकास हुन्छ कि भन्ने बेला अवरोध गरेको चित्त बुझेको छैन् । आयोजना बन्न दिन राज्यले सघाउनु पर्छ ।”

स्थानीय अगुवा भरतराज घलेले पनि आयोजना सुचारु गर्न प्रशासनले सहजीकरण गर्नुपर्ने बताउनु भयो । जलविद्युत् आयोजना निर्माण कार्य सुचारु गर्ने जिल्ला प्रशासनको कदमप्रति अति प्रभावित क्षेत्रका बासिन्दा साथमा रहने उहाँले बताउनु भयो ।

बेँसीसहर नगरपालिका–६, बेलौती बिसौनामा आयोजनाको जलाशय र बेँसीसहर नगरपालिका–१०, सालडाँडामा विद्युत् गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो । २०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात २०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

बेँसीसहरवासीले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य हाल स्थगित रहेको छ । आयोजना निर्माणको विरोधमा गठित ‘मर्स्याङ्दी बचाऔं’ सङ्घर्ष समितिको अगुवाइमा आयोजनाको स्काभेटर, ट्याक्टरलगायतका सामानको चावी खोस्नुको साथै सम्पर्क कार्यालयमा ताला लगाइएको छ ।

एक महिना यता आयोजनाको काममा अवरोध भए पनि प्रशासनले सहजीकरणका लागि कुनै अगुवाइ गरेको छैन । दुबैपक्षको ध्यानआकर्षण पत्र बुझ्ने बाहेक प्रशासनले कुनै पहलकदमी नलिएको सरोकारवालाहरूले बताएका छन् ।