विश्वका अविकसित वा गरिब देशका नागरिकका लागि मात्र होइन धनी र विकसित देशका नागरिकका लागि पनि उत्तिकै आकर्षणको केन्द्र रहेको छ संयुक्त राज्य अमेरिका। अवसर र स्वतन्त्रताका लागि विश्वका अधिकांश मानिसको सपनाभूमि मानिने अमेरिकमा लाखौँ होइन करोडौँको सङ्ख्यामा मानिस चरम गरिबी, अभाव, भोकमरी र घरवारबिहीन अवस्थामा जीवन गुजारिरहेका छन् भन्दा हामी जो कसैलाई पनि पत्याउन गाह्रो हुन्छ। तर अमेरिकी सरकारका आधिकारिक अध्ययन र सार्वजनिक भएका तथ्यले त्यही यथार्थ स्वीकार गर्छ।
विश्वकै शक्ति केन्द्र मानिने अमेरिकाको राजधानी वासिङ्टन डीसी तथा आसपासका सहर तथा अन्य राज्य टेक्सास, क्यालिफोर्नियालगायतका ठूला सहर र न्यूयोर्कमा सबैभन्दा बढी गरिब, बेरोजगार र घरबारविहीनको बसोवास छ। यी सहरका मुख्य आकर्षण केन्द्रमा बग्रेल्ती रङ्गीचङ्गी पाल टाँगेर बसेका घरबारविहीन देखिन्छन्। गल्लीमा प्रशस्त माग्ने भेटिन्छन्। अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस र स्टेट डिपार्टमेन्टका झ्यालबाट नै देख्न सकिने सडक वरपर पाल टाँगेर बसेका तिनै घरबारविहीनलाई स्वयंसेवी संस्थाका प्रतिनिधिले खाद्यान्न वितरण र अन्य परामर्श सेवा उपलब्ध गराइरहेका दृश्य सामान्यझैँ लाग्छन्। त्यसरी बसेका घरबारविहीन लाइन लागेर आफ्ना भागमा परेका खाद्यान्नका पोकाहरू बोकेर तिनै पालमा फर्किरहेका हुन्छन्। तोकिएको समयमा लाइन लाग्न नपाएकालाई पनि आफूले पाएका खाद्यान्नका पोकाहरू उनीहरू एकआपसमा बाँडेर खाँदै हुन्छन्।
अमेरिकी जनगणनासम्बन्धी निकायका अनुसार सन् २०२१ को गरिबीको रेखामुनि रहेको जनसङ्ख्या साढे ११ प्रतिशतभन्दा धेरै अथवा करिब तीन करोड ९० लाख बराबर छ। अध्ययनमा उल्लेख भएअनुसार गरिबीको मात्रा पछिल्ला वर्षमा ६५ वर्षका नागरिकमा बढेको र १८ वर्षमुनिका नागरिकमा घटेको पाइएको छ। अमेरिकी नागरिकका लागि चार जनाको परिवारलाई गरिबीको रेखामाथिको न्यूनतम औसत आय अमेरिकी डलरमा २५ हजार सात सय, एक जनाको १२ हजार ७६४ र नौ जना वा सोभन्दा माथिको सङ्ख्या रहेको परिवारका लागि ५१ हजार ३९३ हो।
गरिबीको रेखामुनि रहेको ११ प्रतिशतसँगै अर्को ३० प्रतिशत अमेरिकी नागरिक पनि गरिबीको सीमारेखा नजिक छन् जो पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै पनि प्रतिकूलता आइपर्दा गरिबीको सीमारेखा तल झर्ने खतरा हुन्छ। यसरी हेर्दा अमेरिकी नागरिकको ४० प्रतिशतभन्दा माथिको सङ्ख्या गरिबीको रेखा वरिपरि छ। अमेरिकामा खाद्य पदार्थको भन्दा यसको सुरक्षित व्यवस्थापन महँगो छ। बजार भाउमा एकरूपता छैन। छनोटको अवसर र अधिकार हुँदाहुँदै पनि उपभोक्ताका आ–आफ्ना सीमाहरू छन्, जसले गर्दा उनीहरू जहाँ जस्तो वस्तु जुन मूल्यमा उपलब्ध हुन्छ, त्यही खरिद गर्न बाध्य हुन्छन्। त्यसो त अमेरिकी खाद्य बजारमा विश्वका जुनसुकै कुनाका बासिन्दाका लागि तिनका के कस्ता रैथाने वा आधुनिक खाद्य वस्तुमा रुचि हुन्छ, ती सबै उपलब्ध छन्। उदाहरणका लागि नेपालकै बजारमा पनि पर्याप्त उपलब्ध हुन नसक्ने टिम्बुर होस् वा जिम्बु अमेरिकी बजारमा नेपाली उपभोक्ताका लागि सहज उपलब्ध छ।
विश्वकै सबैभन्दा धेरै स्रोत साधनको प्रयोग र उपभोगको ठूलो हिस्सा ओगटेको अमेरिकामा खाद्य पदार्थको ठूलो मात्रा खेर फालिन्छ। अमेरिकी खाद्य विभागको सन् २०१८ को अध्ययनअनुसार ११ प्रतिशतभन्दा धेरै अमेरिकीलाई पर्याप्त खाद्य सुविधा उपलब्ध छैन। यसरी पर्याप्त खाद्य सुविधाबाट वञ्चित रहेको ११ प्रतिशत जनसङ्ख्या भनेको तीन करोड ९० लाखभन्दा धेरै हो। अमेरिकी जनसङ्ख्यामा रहेको यो खाद्य असुरक्षा अमेरिकी सरकारले गणना गरेको गरिबीको रेखामुनि रहेकालाई मात्र होइन गरिबीको सिमानामा रहेका माथि उल्लेख गरिएका थप ३० प्रतिशत नागरिकका लागि पनि राष्ट्रिय मापदण्डभन्दा धेरै कम छ।
अमेरिकी श्रम तथ्याङ्क विभागले सन् २०२३ को जनवरीमा सार्वजनिक गरेअनुसार अमेरिकामा ५७ लाख मानिस पूर्ण बेरोजगारको सूचीमा छन्। पूर्ण बेरोजगारबाहेकका २१ लाखले भने बेरोजगार भत्ता लिइरहेका छन्। यो भत्ताको सुविधा तिनका लागि नियमित भने हुन सक्दैन। यस्तो सुविधा लिनेको सङ्ख्या घटबढ हुने वा निश्चित समयमा सकिन्छ।
सन् २०२० को गणनाअनुसार अमेरिकामा पाँच लाख ८२ हजार ४६२ व्यक्ति घरबारविहीन अवस्थामा जीवन गुजारा गरिरहेका छन्। आवास र सहरी विकास विभागले सन् २०२३ जनवरी २५ मा सार्वजनिक गरेको घरबारविहीन अध्ययन प्रतिवेदनका अनुसार यो सङ्ख्या सन् २०२० यता करिब दुई हजार बढेको छ। अध्ययनमा जनाइएअनुसार सन् २०१९ यता डेलावेयर, भर्मन्ट, लुजीयाना र मेन राज्यहरूमा भने घरवारविहीन हुनेहरूको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ। खाद्य वस्तुलगायतका दैनिक उपभोगका वस्तुमा बढेको मूल्यवृद्धि र महँगो आवासका कारण कतिपय मानिस सार्वजनिक पार्कमा पाल टाँगेर बस्ने, सडक किनारमा पार्कमा राखिएका आफ्ना कारमा नै रात बिताएर जीविकोपार्जनका लागि काममा जानेहरू पनि हुन्छन्।
अमेरिकामा बढ्दो महँगी र आवासको असुविधाका कारण अमेरिकीहरू ठूलो सङ्ख्यामा दक्षिणी छिमेकी देश मेक्सिकोमा गएर बसोवास गर्न थालेका छन्। त्यसरी मेक्सिको प्रवासमा जानेहरूमा सेवा निवृत जीवन बिताउनेहरूका अतिरिक्त अनलाइनमार्फत घरैमा बसेर काम गर्ने आइटी अर्थात् सूचना प्रविधि विज्ञ पनि छन्। यसरी अमेरिकीहरूको आकर्षण बढ्न थालेपछि मेक्सिकनका लागि भने खाद्यान्न र आवास सुविधा महँगिएको गुनासो पनि आउन थालेको छ। यद्यपि मेक्सिको सिमाना नाघेर गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रम पनि घटेको छैन।
अमेरिकी गरिबीको रेखामुनिको जनसङ्ख्यामा पुरुष करिब साढे १० प्रतिशत र महिला करिब १३ प्रतिशत छन्। त्यसमा पनि एकल पुरुष साढे १२ प्रतिशत आसपास छन् भने एकल महिला भने एकल पुरुषको तुलनामा दोब्बरभन्दा बढी करिब २५ प्रतिशत छन्। अध्ययनले देखाएको एउटा सकारात्मक पक्ष के छ भने विवाहित जोडीहरू जोसँगै बस्छन् तिनमा भने गरिबीको मात्रा निकै कम करिब पाँच प्रतिशत मात्र छ। अमेरिकामा करिब ४० लाख मानिस विभिन्न किसिमको अपाङ्गताको सामना गर्छन् भने तिनमा २६ प्रतिशत जति गरिबीको रेखामुनि छन्।
अमेरिकी बालबालिकाको जीवनस्तर, बसोवास र खाद्य पहुँचको सन्दर्भ पनि सन्तोषजनक छैन। सन् २०१८ को तथ्याङ्कमा केही फेरबदल भएको हुनसक्छ तर अन्य कतिपय सूचाङ्कहरू हेर्दा यसमा पनि अपेक्षित सुधार नआएको अनुमान गर्न सकिन्छ। यहाँका हरेक छ जना बालबालिकामा एक जना गरिबीको रेखामुनि छन्। बालबालिकाको १२ प्रतिशत करिब एक करोड ९० लाख गरिबीको रेखामुनि छन्।
अमेरिकाको भर्जिनियाको सदरमुकाम रिचमण्डमा मात्र हरेक वर्ष तीन हजार घरधुरी आफू बसोवास गरिरहेको घरबाट स्थानीय प्रहरीमार्फत बल प्रयोग गरेर निकालिन्छन्। राजधानी वासिङ्गटन डीसीसँग जोडिएको भर्जिनिया राज्यको पुरानो औद्योगिक सहर रिचमण्डमा कुल जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि छन्। अमेरिकामा राज्यअनुसार मात्र होइन स्थानीय निकायमा पनि घर भाडामा दिने र बसोवास गर्ने व्यक्तिका बीच हुने कानुनी सम्झौतामा एकरूपता छैन। कुनै व्यक्ति वा परिवारले तोकिएको मितिमा घर भाडा नबुझाए थप एक हप्ताभित्र बुझाउन पत्र पठाउँछ । त्यो एकहप्ता भित्र पनि भाडा बुझाउन नसके सामान्यतया २१ दिनपछि घर धनी कम्पनीको तर्फबाट नौ दिनको समय दिएर घर खाली गर्न स्थानीय प्रहरी पहेँलो रङको चेतावनी पत्र घरको ढोकामा टाँस्न आइपुग्छन्।
सन् २०१८ मा अमेरिकी ज्येष्ठ नागरिकमा पनि गरिबीको सङ्ख्या करिब १० प्रतिशत थियो। त्यसयता स्वास्थ्य सेवालगायतका क्षेत्रमा बढेको महँगीले ज्येष्ठ नागरिकको गरिबी १४ प्रतिशत नाघिसकेको छ । अमेरिकाको पछिल्लो जनगणनाअनुसार कुल अमेरिकन आदिवासीमा २५ प्रतिशत, अश्वेत अमेरिकन २१ प्रतिशत, स्पेनिस साढे १७ प्रतिशत र श्वेत अमेरिकन करिब १० प्रतिशत गरिबीको रेखामुनिको जीवन बाँचिरहेका छन्। यही तथ्याङ्कका अनुसार एसियन मूलका प्रवासीहरूको गरिबीको मात्रा श्वेत अमेरिकनहरूको बराबर अर्थात् १० प्रतिशत मात्र छ।
एकातिरको तस्बिर यस्तो छ भने अमेरिकी सरकारले आफ्ना नागरिकको जीवनस्तर माथि उठाउन, खाद्य उपलब्धतामा पहुँच पु-याउन, आवास सुविधा तथा स्वास्थ, शिक्षा सेवा, रोजगारीलगायतका आधारभूत आवश्यकताको परिपूर्तिका लागि अनेकौँ सामाजिक सुरक्षा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ।
लेखक पत्रकार हुनुहुन्छ।