• १३ साउन २०८१, आइतबार

मेलम्चीको पानी वितरणका लागि बिछ्याइएका पाइपबाट चुहावट

blog

काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपबाट पानी चुहावट । फाइल तस्बिर

काठमाडौं, फागुन २४ गते । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिछ्याइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले एसियाली विकास बैङ्कको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप बिछ्याइएको थियो । नयाँ पाइपमा पनि अरू निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उहाँले बताउनुभयो । “पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ”, उहाँले भन्नुभयो ।

निर्देशनालयले यसअघि बिछ्याइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनः परीक्षण गरिने उहाँको भनाइ छ । “अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ”, उहाँले भन्नुभयो ।

नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।

पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौंमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ । रासस