चाँदनी आचार्य
घोडाघोडी (कैलाली), २३ गते । तराईमा खेलिने होली अर्थात फागु पर्वमा बिकृति बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रबाट बसाई सराईगरी तराई झरेकाहरुले परम्परागत होली मनाएका छन् ।
कैलालीका लम्कीचुहा, टीकापुर, गौरीगंगा, गोदावरी, घोडाघोडीलगायतका नगरपालिकामा बैतडी, डडेल्धुरा, दार्चुला, डोटीलगायतका जिल्लाबाट बसाईसरी आएका स्थानीयले पहाडमा मनाउने गरेको होली पर्वलाई ब्यूँताउन थालेका हुन् । होली पर्वको छुट्टै सांस्कृतिक महत्व रहेको जान्नेबुझ्नेहरु बताउँछन् ।
घोडाघोडी नगरपालिका –३ निम्दीका स्थानीय गणेश विष्ट बैतडीबाट बसाईसरी आउनु्भएको हो । उहाँले पहाडमा १५ दिनसम्म होलीपर्व फागु खेलेर मनाएको स्मरण गर्दै तराईमा पनि आफूजस्तै मनमिल्ने साथीभाइसँग फागु खेलेको बताउनुभयो । उहाँका अनुसार फागु पर्वको धार्मिक तथा सांस्कृतिक महत्व होलीका दहनसँग रहेको छ ।
असत्यको प्रतीक हिरण्यकश्यपु र उहाँका छोरी होलिका दहनको खुशीयालीमा त्यही होलिका दहनको खरानीको टीका लगाई खुशी व्यक्त गर्नेक्रममा फागु खेल्ने परम्परा विकसित हुँदैआएको बताइन्छ । प्रह्लादलाई बाजागाजासहित रंगीन उत्सवका साथ अबिरयात्रा गरिएको संस्मरणस्वरूप फागु पूर्णिमा मनाउने चलनले सबै जनमानसमा एउटा अमिट छाप छोडेको विभिन्न ठाउँ समुदायअनुसार विभिन्न तरिकाले यो पर्व मनाउने गरिएको सांस्कृतिक महत्व रहेको छ ।
होलीपर्व मनाउन घोडाघोडीमा समुह बनाएर एउटै पोशाकमा छ दिनसम्म फागु खेलेको विष्टले बताउनुभयो । साथीमाझ एकापसमा होली खेल्दैगर्दा भेटिनु भएका विष्टले भन्नुभयो ‘चेलीवेटीले तीजको गित गाएजस्तै विभिन्न देवीदेवताको कथा बेदना, बिलौनाहरु फागखेलमा समेटिन्छन्, एकअर्काप्रति सदभाव राख्दै आज अनुहारमा रंगहरु दलेर हाम्रो होली सकिन्छ ।’
शिवशक्ति गौरीशंकर मन्दिर धार्मिक समितिको आयोजनामा सामुहिक परम्परागत होली मनाइएको हो । समितिका सचिव जनक धामीले आफू जन्मेको पहाड बैतडीमा सानोमा देखेको होली अहिले तराईमा पनि खेल्नपाउँदा खुशी लागेको बताउनुभयो ।