• १३ असोज २०८१, आइतबार

योद्धाको स्मरणमा सुखानी

blog

विष्णुप्रसाद पोखरेल 

दमक, फागुन २३ गते । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिस्टले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ। २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना शहीद बन्नुभएको थियो।

झापा र इलामको सङ्गमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवालाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन ५० वर्ष पुगेको हो। रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको थियो। 

झापाका केही कम्युनिस्टले वर्गशत्रु खत्तम अभियान चलाएका थिए। वर्गशत्रु खत्तम अभियानअन्तर्गत २०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिरगढीका एक जमिनदारको हत्या भएको थियो। 

झापा विद्रोहको सुरुवात यहीबाट भएको जानकारहरू बताउँछन्।सुखानी हत्याकाण्डले परिचित पाँच जनाको हत्या भएको वर्षांैपछि मात्र शहीद घोषणा गरिएको थियो। झापा विद्रोहको क्रममा लामो समय जेल जीवन बिताउनुभएका हाल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो।

सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाललगायत २२ जनालाई शहीद घोषणा गरेको थियो। अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलका रूपमा विकास गरिँदै लगेको पाइन्छ।

 २०२८ सालदेखि झापामा कम्युनिस्टले तत्कालीन पञ्चायती शासनको दमनविरुद्ध आन्दोलन गरेका थिए। सो आन्दोलनमा सहभागी संविधान सभा सदस्यसमेत बनिसक्नुभएका एमाले नेता मनकुमार गौतमका अनुसार त्यो समय पञ्चायती शासनविरुद्ध विद्रोह गर्नु धेरै नै चुनौती र कष्टप्रद रहेको थियो।

सो समय झापा विद्रोहमा लागेका कारण नै गौतमले १८ वर्ष कारागार जीवन पनि बिताउनुभएको थियो। त्यो समय आफूहरूले पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता तथा जनकेन्द्रीयता लागू गराउन गरिएको आन्दोलन भएको बताउनुभएको छ। २०२९ सालमा पक्राउ परेका मनकुमार गौतम २०४६ पुस १९ गते जेलमुक्त हुनुभएको थियो।

उहाँका अनुसार झापाको चन्द्रगढी कारागारको ५ नम्बर कोठामा आफूहरूलाई लगेर थुनिएको र यहीबाट केही साथीलाई लगेर हत्या गरिएको हो। “हामीमध्येका पाँच जना साथीलाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँ पारेर सुखानीमा १२/१२ राउन्ड गोली हानी बीभत्स हत्या गरेको हो,” उहाँले भन्नुभयो। 

झापा आन्दोलनका अर्का जिउँदा इतिहास विष्णु प्रसाईंका अनुसार आफूहरूसँगै पञ्चायतविरुद्ध लडेका साथीको जेल सार्ने बहानामा लगेर हत्या गरेको र आफूहरूलाई मलामी जानसमेत नदिएको बताउनुहुन्छ।