• ३ असार २०८१, सोमबार

पत्रकारितामा महिला सहभागिता बढ्दै

blog

काठमाडौँ, फागुन २० गते । सभामुख देवराज घिमिरेले राजनीति, पत्रकारितालगायत हरेक क्षेत्रमा महिलाको सहभागिता र सक्रियता बढिरहेको 

बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ गोष्ठीमा उहाँले हरेक क्षेत्रमा बढ्दो महिला सहभागिताको प्रचार कम भएको विचार व्यक्त गर्नुभयो । 

उहाँले विगतमा रोकिएको सञ्चारसम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रेस काउन्सिल ऐन र सञ्चारसम्बन्धी ऐनलाई तत्काल संशोधन आवश्यक रहेको तथा सञ्चारमाध्यमलाई महिलामैत्री बनाउन आचारसंहिताको कार्यान्वयन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले हरेक दुई वर्षमा श्रमजीवी पत्रकारको तलबको मूल्याङ्कन, सिफारिस र अनुगमनको सीमित क्षेत्राधिकारका कारण सञ्चारकर्मीको अपेक्षाअनुसार समितिले काम गर्न नसकेको गुनासो गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा महिलाको सहभागिता बढ्दै गइरहेको बताउँदै महिला पत्रकारका सक्रिय सङ्ख्यालाई काम गर्ने लैङ्गिकमैत्री वातावरण बनाउन सबै सरोकारवाला पक्षले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारीले २००८ सालदेखि सञ्चारमा नेपाली महिलाको सहभागिता प्रारम्भ भएको बताउँदै महिला सञ्चारकर्मीले महिलामैत्री वातावरणको अभावमा पेसालाई निरन्तरता दिन हालसम्म पनि समस्या झेलिरहेको चर्चा गर्नुभयो । 

पत्रकारिता विषयका अध्यापक डा. कुन्दन अर्यालले सञ्चार क्षेत्रमा महिलाका मुद्दा उठाएर मात्र हुन्न भन्दै महिला सञ्चारकर्मीको उपस्थिति बढाउनु आवश्यक रहेको बताउनुभयो । पत्रकार बबिता बस्नेतले सञ्चारकर्मीलाई बेलाबखत तालिम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।