• १३ साउन २०८१, आइतबार

ठेकेदारका कारण ११ करोडको सव–स्टेशन अलपत्र

blog

अलपत्र अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, फागुन १९ गते ।
खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको छ । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् भने कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भए पनि खुला आकाशमा राखिएको छ ।

खुला चौर भरी थुपारिएका महङ्गा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पूरा भएको छैन । विराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ । 

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्ने गरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको छ ।

अलपत्र परेको सव–स्टेशन निर्माण पूरा भएर सञ्चालनमा आए जिल्लामा देखिइरहेको विद्युत सम्बन्धी केही समस्याहरु अन्त्य हुने प्राधिकरण खोटाङ शाखाका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।


प्रमुख रेग्मीले भन्नुभयो, ‘‘अहिले बाक्सीला क्षेत्रमा विद्युतमा समस्या आएमा हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका क्षेत्रलगायत जिल्लाका अन्य ठाउँमा पनि विद्युत जाने समस्या छ । एक ठाउँमा विद्युत बिग्रिदा जिल्लाका धेरै ठाउँमा विद्युत काट्नु पर्ने अवस्था छ । त्यसैले बाक्सीलामा सव–स्टेशन सञ्चालनमा आए यस्ता समस्याको समाधान हुने थियो ।’’

सव–स्टेशनको बाँकी काम पूरा गर्नका लागि स्थानीय सरकार पटक–पटक विद्युत प्राधिकरण पुगेको छ । तर, काम सुरु गर्ने प्रतिवद्धता पाएपनि व्यवहारमा लागू नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, ‘‘म सम्बन्धित निकायमा गएर ठेक्का तोडेर अरु प्रक्रिया सुरु गरौँ भनेर अनुरोध समेत गरेँ । तर, प्रक्रिया लम्बिने भएकाले सोही ठेकेदारलाई चाँडै काम सुरु गराउने भनियो । केही व्यक्तिहरु निर्माण स्थल फिल्डमा आएर पनि हेर्नु भयो, तर काम भने अहिलेसम्म सुरु भएको छैन ।’’

जिल्लाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माण सुरु गरिए पनि सम्झौता अनुसार म्याद सकिएको चार वर्ष हुन लाग्दासम्म काम सम्पन्न भएको छैन । हालसम्म ७० प्रतिशत काम भएको छ भने बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । पटक–पटक ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।