नेपाल प्रहरीको साइबर ब्युरोको एक तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा साइबर अपराध तथा दुरुपयोगसम्बन्धी परेका उजुरीमध्ये छ हजार १०९ जना उजुरीकर्ता पुरुष छन् भने आठ हजार ४३ वटा उजुरी पीडित महिलाले गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा कुल तीन हजार ९०६ वटा अनलाइन हिंसाका उजुरीमध्ये महिलाका दुई हजार तीनवटा र बालिकाका १५२ वटा थिए । त्यस्तै आ.व. २०७८/७९ मा कुल चार हजार ६८६ उजुरीमध्ये महिलाका दुई हजार ३८९ र बालिकाका १४२ मुद्दा थिए ।
सामाजिक सञ्जालमा महिलालाई अश्लील तस्बिर, भिडियो तथा सन्देश पठाउने, मानहानि गर्ने, ब्लाकमेल गर्ने तथा यौन उत्पीडन गर्ने गरेको भन्दै उजुरी पर्ने दर बढिरहेको प्रहरीको तथ्याङ्क छ । विभिन्न पुरुष पात्रबाट विद्युतीय हिंसामा परेका महिलाका बारेमा सञ्चार माध्यममा आइरहने समाचारले समेत साइबर अपराधबाट पुरुषको तुलनामा महिला बढी पीडित रहेको पुष्टि गर्दछन् । साइबर अपराध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित एक सरकारी समितिले गत वर्ष तयार पारेको प्रतिवेदनले नेपालमा साइबर अपराधबाट सबैभन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका महिला र त्यसपछि कम उमेरका बालबालिका पीडित हुने गरेको उल्लेख गरेको छ ।
उक्त प्रतिवेदनअनुसार साइबर अपराधमा सबैभन्दा बढी सङ्ख्यामा युवावयका व्यक्ति संलग्न भएको र उनीहरूबाट सामाजिक सञ्जालमार्फत यौनजन्य हिंसा गर्ने, ठगी गर्ने, जथाभावी गलत सूचना फैलाउने, युट्युबमा मानहानि हुने, अश्लीलता फैलाउने वा अफवाह फैलाउनेजस्ता सामग्री पोस्ट गर्नेलगायतका अपराध बढी हुने गरेका छन् । किशोरकिशोरीमाझ लोकप्रिय रहेका फेसबुक, इन्स्टाग्राम, भाइबरलगायतका सामाजिक सञ्जालका माध्यमबाट हत्या, हिंसा, बलात्कार, यौन दुव्र्यवहार तथा मानव बेचबिखनका घटनासमेत हुने गरेको उक्त प्रतिवेदनको ठम्याइले पनि साइबर अपराध महिलामाथिको हिंसाको एक प्रमुख कारक रहेको पुष्टि गर्दछ ।
सामान्यतः कम्प्युटर तथा इन्टरनेटको प्रयोग गरी गरिने आपराधिक क्रियाकलाप नै साइबर अपराध हुन् । नेपालको विद्युतीय कारोबार ऐन, २०६३ ले कम्प्युटर इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनी परिभाषित गरेको छ । हामीकहाँ कानुनी रूपमा साइबर अपराधको कतै पनि परिभाषा नदिइएको भए पनि सोही ऐनमा विद्युतीय कसुर भनी परिभाषित विषयलाई नै साइबर अपराधका रूपमा लिन सकिन्छ ।
साइबर अपराध तथा महिलाको पीडासम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतिवेदनको परिभाषालाई हेर्ने हो भने व्यक्तिको प्रतिष्ठामा आँच पु-याउन तथा शारीरिक र मानसिक रूपमा आघात गर्ने प्रत्यक्ष वा परोक्ष रूपमा आपराधिक मनसायले आधुनिक दूरसञ्चार नेटवर्कमार्फत हुने गैरकानुनी गतिविधि साइबर अपराध हुन् । यसअन्तर्गत इन्टरनेट तथा मोबाइल फोनमार्फत हुने गैरकानुनी कसुर पर्दछन् । सूचना प्रविधिको बढ्दो प्रयोग तथा विस्तारसँगै यसका नकारात्मक असरका रूपमा साइबर अपराधको जालो फैलिँदै गएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनका अनुसार यस्तो कम्प्युटरजन्य अपराध लागूऔषधभन्दा पनि आकर्षक आपराधिक उद्योगका रूपमा विकसित भएको छ ।
नेपालमा पछिल्लो समयमा साइबर अपराधका घटनामा वृद्धि हुँदै गएको पाइन्छ । इन्टरनेटको बढ्दो प्रयोग तथा खासगरी टिकटक, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालहरूको बढ्दो प्रयोग र भाइरलमुखी संस्कृति बढ्दै जाँदा साइबर अपराधको ग्राफ पनि चढ्दै जान थालेको छ । यस्ता खाले इन्टरनेटजन्य अपराधमा युवा बढी संलग्न हुने गरेको र यौनजन्य इनटरनेट कसुरबाट महिला धेरै मात्रामा पीडित हुने गरेकोसमेत पाइएको छ ।
अश्लील तस्वीर खिचेर फेसबुकलगायतका साइटमा अपलोड गर्ने, अश्लील भिडियो खिचेर युट्युबमा अपलोड गर्ने, अश्लील सामग्री इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर ब्लाकमेलिङ गर्ने, मोबाइलमा अश्लील सन्देश तथा तस्बिर पठाउने, सामाजिक सञ्जालमा अश्लील सामग्री ट्याग गर्ने, अरूको इमेल वा अन्य इन्टरनेट अकाउन्ट ह्याक गरी अश्लील सामग्री पोस्ट गरिदिने, विभिन्न ब्लग तथा साइटमा अश्लील तस्बिर तथा समाचार प्रकाशन गरी चरित्रहत्या गर्नेजस्ता घटना पछिल्लो समयमा निकै बढेको देखिन्छ ।
वास्तवमा अपराधीका लागि अहिले इन्टरनेट निकै सजिलो माध्यम बनिरहेको छ । चाहे गाउँ होस् या सहर; सबैतिरका किशोरपुस्तादेखि पाको उमेरका मानिसमा समेत टिकटकको संस्कृति निकै झ्याङ्गिएको छ । रातारात भाइरल बन्ने धुनमा टिकटकमा छाडा तथा अश्लील हर्कत मौलाएका छन् । गालीगलौज, दुव्र्यवहार, धम्की, गोपनीयता हनन, असुलीदेखि मानहानिसम्मका गतिविधि ट्विटर तथा फेसबुकमा बढिरहेको अनुभव गर्न सकिन्छ । नामै चलेका कलाकार तथा अन्य व्यक्तिसमेत टिकटक वा फेसबुकको लाइभमा आएर रकम असुली गर्ने, छाडा तथा अश्लील अभिव्यक्ति दिने, गालीगलौज तथा मानहानिमा उत्रिने र झैझगडा गर्ने गरेकोसमेत देखिन्छ ।
सेलिब्रेटीको हर्कतको देखासिकीगर्दै धेरै किशोरकिशोरी तथा युवायुवतीले टिकटक तथा फेसबुकको प्लेटफर्मलाई गालीगलौज, अश्लीलता, मानहानि तथा झगडाको फोरम बनाउने गरेका छन् । यसले इन्टरनेट र सामाजिक सञ्जालको चरम् दुरुपयोगलाई बढावा दिइरहेको छ । आपराधिक मनोवृत्ति भएका पुरुष वा महिलाका लागि आफ्नो स्वार्थ सिद्धिका लागि यो निकै नै सरल माध्यम बनिरहेको छ र यसमा पीडित हुनेमा किशोरी तथा युवती नै अधिक हुन्छन् । उनीहरू आफ्नै प्रेमी, विश्वास गरेकै साथी वा कुनै अपरिचित व्यक्तिबाट अपराधको सिकार बनाइन्छन् ।
आफ्नै प्रेमीले कुनै अन्तरङ्ग क्षणका तस्बिर वा भिडियो थाहा दिएर वा नदिई खिच्ने र त्यसलाई पछि आफ्नो स्वार्थसिद्धिका लागिसमेत प्रयोग गर्ने गरेको पाइन्छ । कतिपय अल्लारे किशोरले त्यसलाई आफ्नो प्रेम सफल बनाउने अस्त्रका रूपमा समेत गलत प्रयोग गर्ने गरेका छन् । कतिपय अपराधीले त्यसलाई फिरौती असुल गर्ने माध्यमका रूपमा समेत प्रयोग गर्ने गर्छन् । यस्ता अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै महिलामाथि यौन शोषणसमेत हुने गरेको सुनिन्छ ।
महिला आफ्ना अश्लील सामग्री सार्वजनिक भएर ज्युँदै मर्नुभन्दा बरु गोप्य रूपमा आफ्नो जिउ सुम्पिनु नै उपयुक्त ठानी बाध्यतावस यौन शोषणमा पर्न राजी हुन्छन् । फोटोसप प्रविधिमार्फत अर्कै महिलाको निर्वस्त्र शरीरमा टाउको मात्र जोडेर अश्लील तस्बिर तयार गरी त्यसलाई समेत धम्की तथा जबरजस्तीको अस्त्र बनाउने गरेकोसमेत पाइएको छ । अश्लील इमेल पठाउने, फेसबुकवालमा अश्लील कमेन्ट गर्ने, अश्लील फोटो तथा लिङ्क ट्याग गर्नेजस्ता क्रियाकलापमार्फत पनि महिलाको इज्जत, प्रतिष्ठा, आत्मसम्मानमा ठेस पु-याउने र मानसिक हिंसा गर्ने गरिएको पाइन्छ ।
महिलाको विषयका आन्तरिक तथा गोप्य कुरा इन्टरनेटमार्फत सार्वजनिक गरी प्रत्यक्ष परोक्ष रूपमा मानसिक आघात पार्ने कामसमेत हुने गरेको पाइन्छ । यस्ता काममा पुरुष मात्र नभएर स्वयं महिला पनि संलग्न रहेको पाइन्छ । अधिकांश अवस्थामा विभिन्न नक्कली नाममा इन्टरनेट ठेगाना खोली त्यसमार्फत छद्म भेषमा यस्ता आपराधिक क्रियाकलाप हुने गरेका छन् । फेसबुकमा आफ्नो अश्लील तस्बिर आएको, आफ्ना बारेमा अनर्गल कुरा, आफ्नो बेइज्जत हुने कुरा सार्वजनिक भएकोजस्ता कारणले गर्दा किशोरी तथा युवतीले आत्महत्यासमेत गर्ने गरेका समाचार बेलाबेलामा आउने गर्छन् ।
सूचना तथा सञ्चार प्रविधि आफैँमा सशक्तीकरणको साधन हो । विश्वमा सूचना तथा सञ्चार प्रविधिकै कारण महिला सशक्तीकरण, शिक्षा तथा चेतनाको प्रसार, हिंसाविरुद्धको विश्वव्यापी सहकार्य तथा समग्रमा महिलाको जीवनस्तरमा सुधारका लागि सहजता थपिइरहेको छ । सूचना सञ्चार प्रविधिकै गलत प्रयोग हुँदा यो अपराधको अस्त्र बन्नुका साथै महिलामाथि हुने हिंसाको कारक तìवसमेत बनिरहेको पाइन्छ र यसले महिला हिंसाको दुस्चक्रलाई झनै जटिल तथा असाध्य बनाउँदै लगेको छ ।
साइबर अपराधसम्बन्धी विशिष्टीकृत कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नवीनतम कसुरलाई सम्बोधन गर्न सकेको छैन । उक्त ऐनमा अपराधीलाई हुने सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रा पनि निकै कम हुनु, साइबरजन्य कसुरलाई पत्रकारिता वा पेसागत लेपन लगाउने प्रयास हुनु, अनलाइन पत्रकारितासम्बन्धी आचारसंहिता बन्न नसक्नु, विभिन्न खाले वेबसाइट तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सरकारले निगरानी गर्न नसक्नुले साइबर अपराधका घटना बढिरहेका छन् भने यसबाट पीडित हुने महिलाको सङ्ख्या पनि बढिरहेको छ ।
साइबर अपराध महिला हिंसाको नयाँ तथा निकै जटिल कारक तत्वका रूपमा देखा परेको सन्दर्भमा यसतर्फ राज्यको ध्यान जानैपर्छ । विद्युतीय अपराध अर्थात् साइबरजन्य अपराधको अनुसन्धान तथा कारबाहीका लागि मौजुदा विद्युतीय कारोबार ऐन, २०६३ प्रचलनमा रहेको भए पनि अपराधजन्य कार्यमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग र साइबर अपराधको बदलिँदो प्रवृत्ति, प्रकृति र क्षेत्रका कारण आधा दशक पुरानो यो कानुन अपर्याप्त बनिसकेको छ । आधुनिक विश्वव्यापीकृत युगमा साइबर तथा विद्युतीय अपराधका सबै क्षेत्रलाई समेट्ने कानुन अत्यावश्यक बनेको छ ।
लेखक महिला मुद्दामा कलम चलाउनुहुन्छ ।