• १३ असोज २०८१, आइतबार

बालबालिकामा कडा खालको कुपोषण

blog

ओखलढुङ्गाका स्थानीय महिला बालबालिका उपचारका लागि अस्पताल परिसरमा । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन १८ गते । खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो । 

सो गाउँपालिकाको वडा १, २, ३, ६ र ९ मा पुगेर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताउनुभयो । अन्य बालबालिकालाई मध्यम कुपोषण पाइएको गौतमको भनाइ छ । कडा कुपोषण फेला परेका बालबालिकालाई जिल्ला अस्पतालमा लगेर उपचार गरिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । 

मध्यमखालको कुपोषण भएका बालकबालिकालाई बालभिटा वितरण गर्दै पौष्टिक आहार खुवाउन सुझाव दिइएको छ । अधिकांश विपन्न परिवारका बालबालिकामा कडा तथा सामान्य कुपोषण देखिएको छ । उपचारका लागि रुम्जाटार लैजानुपर्ने बालबालिकालाई गाउँपालिका स्वास्थ्य शाखामार्फत यातायात खर्च व्यवस्था गरिएको प्रमुख गौतमले बताउनुभयो । साथै, कुपोषित बालबालिकाका आमालाई सेनेटरी प्याड पनि वितरण गरिएको छ ।