• १३ असोज २०८१, आइतबार
blog

बुधबारको प्रदेशसभा बैठक ।

गोकुल पराजुली

विराटनगर, फागुन १७ गते। प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि प्रदेश नम्बर १ को नामकरण भएको छ। प्रदेश सभाको बुधबार बसेको बैठकले ‘कोशी प्रदेश’ नामकरण गरेको हो। 

सत्तारुढ नेकपा (एमाले)का सांसद रामबहादुर मगरको प्रस्ताव तथा एमालेकै सांसदद्वय विदुर लिंथेप र निरन राईको समर्थनमा प्रदेश सभा सचिवालयमा दर्ता गरिएको प्रदेश नामकरणको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो। 

प्रदेश सभामा भएको मतविभाजनबाट प्रदेशको नाम कोशी प्रदेश राख्नुपर्छ भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको सभामुख बाबुराम भण्डारीले घोषणा गर्नुभयो। 

कोशी नामको पक्षमा ८२ मत परेको छ भने विपक्षमा चार मत परेको छ। बैठकमा चार जना सांसद अनुपस्थित रहनुभयो। प्रदेश सरकारका स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सरिता बजगाई मतविभाजनको जनाउ घण्टी बजिसकेपछि ढिलागरी पुगेका कारण प्रदेश सभाभित्र प्रवेश नपाउँदा मतदानमा सहभागी हुनुभएन। कुल ९३ सदस्यीय प्रदेश सभा बैठकमा ८९ जना उपस्थित थिए। 

प्रदेशसभा सचिवालयमा नेकपा (एमाले)का सांसद मगर प्रस्तावक तथा एमालेका सांसद निरन राई र नेपाली कांग्रेसका सांसद भूमिप्रसाद राजवंशीले बुधबार दिउँसो १ बजे प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दर्ता गराउनुभएको थियो। तर, नेकपा माओवादी केन्द्र नामकरणको प्रस्तावक बस्न तयार नभएपछि कांग्रेसले प्रस्तावमा राखेको समर्थन फिर्ता लिएको थियो। कांग्रेस सांसद राजवंशीले समर्थन फिर्ता लिएपछि एमाले सांसद विदुर लिंथेपले समर्थन गर्नुभयो।  

प्रदेश १ को नाम राख्ने विषयमा नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीले छुट्टै संयुक्त प्रस्ताव दर्ता गराएका थिए। पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राई प्रस्तावक, एकीकृत समाजवादी पार्टीकै सांसद कमलप्रसाद जवेगू र जनता समाजवादी पार्टीका सांसद तथा प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला लिम्बूको समर्थनमा ‘लिम्बुवान–किरात–सगरमाथा प्रदेश’ नामकरण गर्नुपर्ने प्रस्ताव दर्ता गराउनुभएको थियो। नामकरणको प्रस्ताव छलफलका लागि सदनमा निर्णयार्थ पेश हुँदा नेकपा (एमाले)का सांसद मगरको प्रस्तावको पक्षमा बहुमत पुगेपछि दोस्राे प्रस्ताव निष्क्रिय भएको थियो। 


प्रदेश नामकरणको प्रस्ताव प्रस्तुत गर्नुहुँदै प्रदेश सभा सदस्य रामबहादुर मगरले प्रदेश १ मा विभिन्न जाति, भाषा र धर्म, संस्कृति र सभ्यता रहेकोले सबैको भावना सम्बोधन गर्न सक्ने साझा नामको खोजी गर्दै कोशी प्रदेश नामकरण गर्नु उपयुक्त हुने बताउनुभयो। प्रदेश १ मा किरात, लिम्बुवान र कोच सभ्यता रहेकोले सबै सम्भ्यताको सम्मान गर्दे सबै सभ्यताको विकास कोशी नदीको वरिपरि नै भएकोले प्रदेशको नाम कोशी राख्न प्रस्ताव गरेको उहाँले बताउनुभयो। 

कोशी नामको प्रस्तावमा छलफल गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई समय उपलब्ध गराइएको थियो। प्रस्ताव उपर छलफलमा भाग लिनुहुँदै नेकपा (एमाले)का प्रमुख सचेतक रेवतिरमण भण्डारीले आफूहरु पहिचानको विपक्षमा नरहेको बताउनुभयो। उहाँले कोशी सभ्यताले यस क्षेत्रमा बसोबास गर्ने सबै जातजातिको धर्म र संस्कृतिको सम्बोधन गर्ने भएकोले साझा पहिचानको रुपमा कोशी प्रदेश नामकरण गर्नु उपयुक्त हुने बताउनुभयो। 

नेपाली कांग्रेस संसदीय दलको तर्फबाट बोल्नुहुँदै प्रदेश सभा सदस्य भूपेन्द्र राईले नेपाली कांग्रेसले कहिले पनि कुनै एउटा जातिलाई बोकेर आन्दोलन नगरेको र अहिले पनि पहिचान भेटिने, द्वन्द्व मेटिने मान्यतामा रहेर नामकरण गर्ने पक्षमा रहेको बताउनुभयो। जातीय पहिचानलाई मूल मुद्दा बनाएर हिँडेका दलहरु जनअनुमोदित हुन नसेकोले साझा पहिचानको रुपमा कोशी प्रदेशको पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो। 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरु पहिचान र सामथ्र्यका आधारमा नामकरण गर्नुपर्ने पक्षमा रहेको तर संसदको गणित आफ्नो पक्षमा नहुँदा नामकरणमा बाधक नबन्ने बताउनुभयो। जनताले पहिचानको पक्षमा दुई तिहाई जनमत दिएको अवस्थामा आफूहरु पहिचानमा आधारित नाम राख्न सँधै तयार रहेको उहाँले बताउनुभयो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट छलफलमा भाग लिनुहुँदै सांसद गोपालबहादुर विश्वकर्माले प्रदेश १ का १४ मध्ये १२ जिल्ला कोशीको पानीबाट सिंचित हुने र इलाम र झापा पनि कोशीको पानी पुर्याएर यस क्षेत्रको विकास गर्न सकिने भएकोले कोशी नामकरण गर्नुपर्ने बताउनुभयो। 

नेकपा एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगूले दलहरुले विगतमा जनतासामु बहुपहिचानका आधारमा नामकरण गर्ने भनेर गरेको प्रतिवद्धता भुलेर अरु नाम राख्न नहुने बताउनुभयो। उहाँले जनतालाई झुटो आश्वासन दिएर दल तथा नेताहरु सँधै जीवन्त रहन नसक्ने भन्दै नामकरणमा सांसदहरुलाई स्वेच्छिक निर्णय गर्ने छुट दिनुपर्ने बताउनुभयो। 

जनता सभाजवादी पार्टीकी नेता तथा प्रदेश सरकारको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले यस क्षेत्रका जातजातिको भावना विपरित पहिचान पक्षधरलाई बहुमतको बलमा ‘सती’ चढाइएको बताउनुभयो। उहाँले सँगै मन्त्रिपरिषद्मा हुँदा पनि मुख्यमन्त्रीले नामकरणको विषयमा कुनै छलफल नगरेर आफूमाथि विभेद गरेको टिप्पणी गर्नुभयो। निकै भावुक भएर प्रस्तुत हुनुभएकी मन्त्री लिम्बू रोष्ट्रममा बोल्दाबोल्दै रुनुभएको थियो। पहिचानको आन्दोलनमा धेरेले रगत बगाएको स्मरण गर्नुहुँदै जनमतलाई गलत प्रमाणित गर्ने कोसिस भएको टिप्पणी गर्नुभयो यसले द्वन्द्व व्यवस्थापन नगर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘बहुमतबाट पास भएको नामले यस प्रदेशलाई हिंसामुक्त र आन्दोलनमुक्त बनाउन सफल रहोस्।’


किराँतको पक्षमा कांग्रेसका दुई सांसद 

नामकरणको विषयमा नेकपा (एमाले)ले अगाडि सारेको कोशी प्रदेशमा मतदान गर्ने निर्णय गरेको नेपाली कांग्रसका दुई जना सांसदले संसदीय दलको निर्णयप्रति असहमति जनाउँदै पहिचानलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। प्रदेश सभाको बैठकमा भएको छलफलमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसदद्वय विनोद वान्तवा राई र शम्शेर राईले प्रदेशको नाममा किराँत जोड्नु पर्ने मत राख्नुभएको हो। 

प्रदेशसभा सदस्य विनोद राईले नामकरणको छलफल गर्दा सरकार तानाशाही शैली अपनाएको र संसद भवन वरिपरि आतंक सिर्जना गरेको भन्दै आलोचना गर्नुभयो। ‘सबैको अधिकारलाई कुण्ठित गर्ने प्रयत्न गरिएको छ, बाहिर निशेधाज्ञा लगाएर आतंक सिर्जना गरिएको छ,’ सांसद राईले भन्नुभयो, ‘राजनीतिलाई रंगमञ्च बनाउनु ठिक हुँदैन, कोशी प्रदेशको प्रस्तावमा किराँत जोडौं।’

यसैगरी कांग्रेस सांसद शम्शेर राईले नामकरणको छलफल हुने दिन प्रदेश सभाले प्रत्यक्ष प्रशारण नगरेर सूचनाको अधिकारबाटसमते बञ्चित गरेको बताउनुभयो। प्रदेशसभा ‘डरपोक’हरुको सभा झैं देखिएको उहाँको टिप्पणी थियो। एमालेका सांसद रमेश बस्नेतले पनि प्रदेशको नाममा किराँत जोड्दा विखण्डन वा अरु विपत्ति नआउने बताउनुभयो। 

पहिचान पक्षधरको विरोध प्रदर्शन

प्रदेश सभामा आकस्किमक रुपमा प्रदेश नामकरणको प्रस्ताव अगाडि बढेपछि पहिचान पक्षधरले प्रदेशसभा नजिक सांकेतिक विरोध प्रदर्शन गरेका छन्। 

प्रदेशको नाम कोशी हुने निश्चित भएपछि लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका हुन्। कोशी प्रदेश मान्दैनौं, पहिचानसहितको नामकरण गर जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए। 

प्रदेश सभामा नामकरणको प्रस्ताव अगाडि बढ्ने भएपछि स्थानीय प्रशासनले विराटनगरको देवकोटो चोकदेखि अस्पताल चोकसम्मको क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो। 

सांसद मगरको भनाइ रेकर्डबाट हटाइयो 

कोशी प्रदेश नामकरणका प्रस्तावक सांसद रामबहादुर मगरले जनता ढाँटेर संसदमा आएको भनाइ सभामुखको निर्देशनमा रेकर्डबाट हटाइएको छ। 

प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा सांसद मगरले चुनावको बेला विभिन्न कुरा गरेर जनतालाई ढाँटेर आएको बताउनुभएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले नियमापत्ति गर्दै उक्त भनाइ रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। 

सांसद रानाले प्रदेश सभामा आएका सांसद सोझा नभएको बरु जनतालाई ढाँटछल गरेर चुनाव जितेर आएको बताउनुभउको थियो। कतिपय सांसदले कोशी नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको आरोप लागेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। 

१४ वटा जिल्ला भएको कोसी प्रदेश हिमाल, पहाडदेखि तराईसम्म फैलिएको छ। ८८ वटा गाउँपालिका रहेको यो प्रदेशमा १३७ वटा स्थानीय तह छन्। एउटा मात्र महानगरपालिका रहेको यो प्रदेशमा दुई वटा उपमहानगरपालिका छन्। विश्वकै अग्लो हिमाल सगरमाथा रहेको यो प्रदेशको राजधानी मोरङको विराटनगर हो।