• १३ असोज २०८१, आइतबार

वन्यजन्तुले गरायो उठिबास

blog

कविराज घिमिरे 

हिले (धनकुटा), फागुन १३ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए ।

सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले  पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क । 

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भन्नुभयो, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि बाँदरलगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गाउँ छाड्न सबै बाध्य भए । अब तीन घर मात्र बाँकी रहेका छौँ ।” 

बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन् ।

धनकुटा नगरपालिका–९, माहाङमा करिब ५० परिवारको बसोबास छ । सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो । बाली सखाप पारेपछि घर वरिपरिबाहेक अन्य क्षेत्रमा खेती गर्न छाडेको स्थानीय रविन घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बसाइँ सरेर जान सक्ने अवस्था भएका गए तर अवस्था नै नभएका भने गाउँमा बसेका छन् तर पहिले गरेको खेतीको क्षेत्र घटाएका छन् ।” जङ्गलसँगै जोडिएका बस्तीमा वन्यजन्तुले बर्सेनि सताउँदै आएको छ । यो समस्या एक क्षेत्रमा मात्र नभई समग्र जिल्लाभर नै रहेको छ । जिल्लाका सातै पालिकामा जङ्गली जनावरको आतङ्क बढेको स्थानीयको गुनासो छ । 

सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो ।

२०७५ सालमा धनकुटा नगरपालिका–६ बाट बाँदर पक्राउ गर्दै ठूला जङ्गलमा लगेर छाड्ने अभियान सुरु गरिएको थियो । अन्यत्रबाट बाँदर आउन थालेपछि भने नियन्त्रण सम्भव भएन, अभियान त्यत्तिकै सेलायो । 

पछिल्लो समय पहाडी क्षेत्रका बस्ती रित्तिने क्रम बढ्दो छ । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधारका कारण देखाउँदै बसाइँ–सराइ हुनु पहाडी क्षेत्रमा नौलो कुरो थिएन । बस्ती पातलिएसँगै बाँदर, मृग, दुम्सीजस्ता जङ्गली जनावरको आतङ्क बढेर गएको हो । कोदो, मकै, धान खेती गर्ने किसान आजित बनेका छन् । अन्न, फलफूल सबै सखाप पार्न थालेपछि कृषक हैरान भएका हुन् । जङ्गली जनावर बस्तीमा छिर्न थालेका छन् । घरमा थन्क्याएको बालीसमेत भित्रै पसेर नष्ट गर्दै आएको स्थानीयवासीको गुनासो छ । स्थानीय डम्बरबहादुर कार्की भन्नुहुन्छ, “खेतीपाती गर्न त दिँदैन, घरमा थन्क्याएको बालीसमेत आएर खाइदिन्छन् ।” समयमै जङ्गली जनावर नियन्त्रण नगरिए बाँकी रहेका स्थानीयवासी पनि गाउँ छाड्न बाध्य हुनुपर्ने कार्कीको भनाइ छ । 

बाँदरले दिउँसो, मृग, कालिज, बँदेल र दुम्सीले रातको समयमा दुःख दिने गरेका छन् । जनावर नियन्त्रण गर्न कानुनले रोकेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउनुहुन्छ ।