• १३ साउन २०८१, आइतबार

सिद्धिचरण राजमार्ग जीर्ण

blog

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका वडा नं ११ को कटारी घुर्मी सडक खण्डको ठाँटी भञ्ज्याङ्स्थित लब्सेभीर क्षेत्रको सडकको यो नाजुक अवस्था । तस्बिर: भक्तिविलास पोखरेल

मिर्चैया–घुर्मीको यात्रा अति जोखिमपूर्ण 

भक्तिविलास पोखरेल 

गाईघाट,फागुन १२ गते । नियमित मर्मत सम्भार र स्तरोन्नतिमा राज्यको नजर नपर्दा सिद्धिचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको घुर्मीसम्मको सडक जीर्ण बनेकाे छ । कटारी नगरपालिका हुँदै माथिल्लो सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको यो सडकलाई सरकारी निकायले चासो नदिँदा जीर्ण बनेको हो ।

सडक निर्माण गर्ने सम्बन्धित निकायले ध्यान पुग्न सकेको छैन । जसले गर्दा सो खण्डको करिब ७२ किलोमिटर यात्रा अत्यन्तै जोखिमपूर्ण बनेको छ । सिराहाको मिर्चैयादेखि कटारी हुँदै उदयपुरको घुर्मीसम्मको सडक यात्रामा साना ठूला दुर्घटना दैनिक जसो हुने गरेको त्यस क्षेत्रमा सवारी चलाउँदै आएका यातायात ब्यावसायीहरु बताउँछन् । 

विगतमा कालोपत्रे गरिएको भनिएको सो सडकमा अचम्म त के छ भने आजभोलि कालोपत्रे कतै देख्न पाइँदैन । जताततै खाल्टा परेको, धुलैधुलोले भरिएको साँघुरो र भिरालो सडकमा अब पल्टिने पो हो कि भन्ने झैँ गरी दायाँ बायाँ दुवैतिर हल्लिदै सवारी गुडाउनुपर्दा सवारी साधन चलाउन कठिनाइ मात्र भएको छैन यात्रुहरूको ज्यानसमेत सदाबहार जोखिमपूर्ण हुने गरेको यातायात व्यवसायी नवराज साहीले बताउनुभयो ।

सडक राम्रो नभएपछि दैनिक उपभोग्य सामग्रीहरूको ढुवानी खर्च दोब्बर हुने गरेको र यसबाट पहाडी जिल्लाका बासिन्दाहरू थप मारमा पर्ने गरेको कटारीका समाजसेवी गोपी पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो सडकको जीर्ण अवस्थाले ढुवानी खर्चको प्रत्यक्ष असर उपभोक्तालाई परेको छ भने व्यवसायीसमेत समस्यामा  परेका छन् । 

सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी सडक खण्डमा विभिन्न सिमेन्ट उद्योगहरूले मापदण्डविपरीत ओभरलोड चुनढुङ्गा ओसार्ने गरेको र दैनिक एक हजार पाँच सयभन्दा बढी टिपरले चुन ढुङ्गा ओसारेका कारण अधिकांश सडक भत्किएको छ । सडकमा ठुलठुला खाल्डा परेकाले समस्या झन् जटिल बन्दै गएको उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्का बताउनुहुन्छ । 

१० टन भार बहन क्षमताको सडकमा क्षमताभन्दा बढी भार बोकेर मालवाहक सवारी गुड्दा समस्या बढेको हो । तराईसँग ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुलाई जोडने मुख्य सडक जीर्ण बन्दा यात्रा जोखिमपूर्ण बनेको छ । विश्वकै अग्लो सगरमाथा, पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी महादेव दर्शनका लागि भुटान तथा भारतबाट समेत आउने तीर्थ यात्रुसमेत जोखिम मोल्न बाध्य हुने गरेको उहाँ बताउनुहुन्छ ।

सडकको दुरावस्थाका कारण जोखिम बढेको भन्दै जनप्रतिनिधिले पटक–पटक सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरेको बताएका छन । तर, अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ भने हुन सकेको छैन भन्दै चार वटै जिल्लाबाट विजयी हुनुभएका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा यो सडकको सुधारका लागि आवश्यक रकम विनियोजन गराउन आफूहरू लागि पर्ने बताउनुभएको छ । 

पहाडी जिल्लाहरुमा खाद्यान्न, लत्ताकपडा, औषधि तथा निर्माण सामग्रीहरू ढुवानी गर्ने प्रमुख सडकको यस्तो दुरा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका साँसदहरुसँग सम्पर्क गर्दा उहाँहरूले यस्तो प्रतिक्रिया दिनुभयो । 


सांसदहरु रामहरि खतिवडा, रामकुमार राई, मानवीर राई र अम्बरबहादुर रायमाझी । तस्बिरः गोरखापत्र

ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा :

नेपाली काँग्रेसबाट विजयी हुनुभएका ओखलढुङ्गा जिल्लाका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले यो बाटो बनाउनका लागि आफू धेरै पहिलेदेखि लागि परेको र पछिल्लो समय सडक विभागका महानिर्देशकदेखि अर्थ मन्त्रालयमा चार अर्बको बजेट सुनिश्चितताका लागि फायल बोक्ने काम गरेको बताउनुभयो । 

उहाँले यो सडक उदयपुर जिल्लाका लागि भन्दा पनि माथिल्लो पहाडी भेगका तीन जिल्लाका लागि अत्यन्तै महत्त्वपूर्ण सडक भएकोले यसको स्तर उन्नतिका लागि सडक र सदन दुवैतर्फबाट दबाब दिन आफू पछि नहट्ने भन्दै प्रदेश १ को राजधानी जान अर्काे विकल्प पनि नभएको र तीन वटा जिल्लाको भौतिक विकासका पूर्वाधारहरू निर्माण गर्दा चाहिने सिमेन्ट,छड लगायत अन्य सामग्रीहरू ढुवानीमा जटिलता भएकोले सामरिक महत्त्वको यो सडक निर्माण गराउन आफू अहोरात्र लागिपर्ने बताउनुभयो । 

उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी :

नेकपा एमालेबाट विजयी हुनुभएका उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले शिध्दचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै घुर्मीसम्मको सडक खण्ड अत्यन्तै नाजुक भएकोले यसको स्तरोन्नति गरी चौडाइ बढाएर कालोपत्रे गर्नका लागि आफ्नाे बुताले भ्याएसम्म कुनै कसर बाँकी नराख्ने भन्दै आफूले प्रतिनिधि सभामा समेत यस विषयमा कुरा राखिसकेको बताउनुभयो । 

उहाँले वर्तमान अर्थमन्त्री, अर्थ सचिव,सडक पूर्वाधार तथा भौतिक योजना मन्त्रालयका सचिवसमेतलाई भेटेर मिर्चैया घुर्मी खण्डको सडकलाई जतिसक्दो छिटो कालोपत्रे बनाउन आवश्यक बजेट व्यवस्था गरी योजनामा समावेश गर्न आफूले अनुरोधसमेत गरी सकेको र यो सडकको सुधार नभएसम्म यस विषयलाई उठान गरिरहने बताउनुभयो ।

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य मानवीर राई :

नेकपा एमालेबाट विजयी हुनुभएका सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य मानवीर राईले शिध्दचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बुसम्म जोडिएको हुँदा उच्च पहाडी जिल्लाको आर्थिक,सामाजिक र भौतिक विकासमा यो सडक अत्यन्त महत्त्वपूर्ण  सडक भएकोले यसको तत्काल स्तरोन्नति गरी सवारी आवागमनलाई सहज बनाउन आफ्नाे तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

उहाँले हिमाली क्षेत्रको पर्यटकीय स्थलहरूको अवलोकन गर्ने नेपालको तराई क्षेत्रका मात्र नभएर छिमेकी मुलुक भारत तथा सडक यात्राबाट आउन चाहने विश्वभरका आगन्तुकहरूका लागि यही सडकबाट आउजाउ गर्ने वातावरण मिलाउने हो भने चार जिल्लाको आर्थिक विकासले फड्को मार्न सक्छ । त्यसैले यो सडक उदयपुरको मात्र नभएर उदयपुरभन्दा माथिका पहाडी जिल्लाका बासिन्दाहरुको समेत भाग्य र भविष्य जोडिएकोले यसलाई तत्काल कालोपत्रे गर्न बजेटको व्यवस्था मिलाउन नेपाल सरकारलाई बारम्बार झकझक्याउने काम आफूले गरी रहने बताउनुभयो । 

खोटाङबाट प्रतिनिधिसभा सदस्य रामकुमार राई :

नेकपा माओवादीबाट विजयी हुनुभएका खोटाङ जिल्लाका प्रतिनिधिसभा सदस्य रामकुमार राईले सरकारले दुर्गम क्षेत्रको विकासमा बजेट थोरै विनियोजन गर्ने,अनि विनियोजित गरेको बजेट पनि कटौती गर्ने,  बीसाैं वर्षमा पनि सम्पन्न हुन नसक्ने गरी योजना बनाउने जस्ता कामहरू गर्ने गरेकोले अव आफूहरू यस्तो प्रवृत्तिका विरुद्ध सडक र सदन दुवैतर्फबाट आवाज उठाउने बताउनुभयो । उहाँले कटारी घुर्मीखण्डको सडक जीर्ण भएकै कारण हलेसी महादेवको दर्शन गर्न आउने भक्तजनहरूको जति मात्रामा उपस्थित हुनुपर्नेहो त्यति हुन नसकेको भन्दै यसको यथाशीघ्र स्तरोन्नति गरी कालोपत्रे बनाउन सम्बन्धित निकायले आवश्यक बजेटको प्रबन्ध गर्नुपर्ने र त्यसका लागि आफू लागिपर्ने बताउनुभयो ।

कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ :

कटारी नगरपालीकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार २०३४ सालमा सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडिएको सडक नेपाली सेनाले निर्माण गरी ट्र्याक खोलेपछि २०५८ सालदेखि कटारीबाट घुर्मीसम्म यातायात सञ्चालन हुँदै आएको भए पनि सडकको स्तरोन्नति भने हालसम्म हुन सकेको छैन । 

अहिले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म सिधा यातायात सञ्चालन हुने भए पनि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सडक सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा समेत जोखिमपूर्ण हुदाँ पनि प्रदेश र सङ्घीय सरकारको ध्यान नजाँदा स्थानीय तहबाट मात्र लगानी गरेर जोखिम न्यूनीकरण गर्न कठिन हुने नगर प्रमुख  श्रेष्ठले बताउनुहुन्छ ।

हाल कटारीमा मिर्चैया कटारी घुर्मी सडक खण्ड आयोजना कार्यालय स्थापना गरिएको भए पनि कुल लागत १० अर्बको डिपिआर अनुसारको बजेट नहुँदा कार्यालयले कुनै काम अगाडि बढाउन सकेको छैन । चालु आर्थिक वर्षको विनियोजित चार अर्ब सरकारी बजेट सुनिश्चितताका लागि गत भदौमा नै अर्थ मन्त्रालयमा फायल पुर्‍याइएको भए पनि हालसम्म त्यसको कुनै सुनुवाइ नहुँदा मिर्चैया कटारी खण्डको करिब ७ किलोमिटरमा ग्राभेल गर्ने काम मात्रै भएको कटारीस्थित योजना प्रमुख केशव ओझाले बताउनुभयो ।