• १३ साउन २०८१, आइतबार

धरानमा स्थानीय उत्पादन प्रवर्द्धन गर्न ‘एक्स्पो’ हुँदै

blog

धरान ‘एक्स्पो’का लागि तयार गरिएको प्रदर्शनी स्थल ।

निशा राई

धरान, फागुन १० गते। स्थानीय उत्पादनको बिक्री वितरणलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ धरान उपमहानगरमा १० दिने धरान एक्स्पो हुने भएको छ। तीन वर्षपछि आयोजना हुन लागेको धरान एक्स्पो प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट  सुरु हुने सुनसरी उद्योग वाणिज्य संघका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो। एक्स्पोमा एक सय १३ वटा स्टल रहने गरी फागुन ११ देखि २० गतेसम्म धरान १६ फुटबल रंगशालामा एक्स्पो सञ्चालन हुन लागेको हो।

एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बंगुर, लोकल रक्सी, कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय रेडीमेड तथा कपडा, घरेलु सामानको स्टल रहने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो। उहाँले सुनसरीका स्थानीय उत्पादन भएका सबै वस्तु एक्सोमा प्रदर्शनीमा राखिने बताउनुभयो।

धरान एक्स्पोमा मनोरञ्जनका कार्यक्रम पनि रहने हरेक दिन राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ। दैनिक ३० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोबाट करिब १० करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन्। स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाको उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने आयोजकको भनाइ छ।